जिल्ला सहकारी संघ म्याग्दीको रणनीतिक योजना निर्माण तालिम

आदर्श अनलाइन, म्याग्दी
जिल्ला सहकारी संघ लिमिटेड म्याग्दीको २ दिने रणनीतिक योजना निर्माण तालिम बुधवारदेखि शुरु भएको छ । राष्ट्रिय सहकारी महासंघको प्राविधिक सहयोगमा कार्यक्रम आयोजना गरिएको संघले जनाएको छ । संघले आगामी ४ वर्षका लागि रणनीतिक योजना तयार पारेर संघलाई व्यवस्थित रुपमा अगाडि बढाउने तयारी गरेको छ ।

कार्यक्रमको शुभारम्भ गर्दै राष्ट्रिय सहकारी महासंघका सञ्चालक हुमा कुमारी जि.सी.
(अञ्जु) ले जिल्लामा सबै सहकारीको छाता संगठनका रुपमा रहेको जिल्ला सहकारी संघले योजना बनाएर काम गर्न सकेमा सहकारी अभियानलाई थप प्रभावकारी बनाउन सकिने बताउनुभयो ।

सहकारी अभियानलाई व्यवस्थित र प्रभावकारी रुपमा अगाडि बढाउनका लागि सबै सहकारीहरुले रणनीतिक योजना बनाएर काम गर्नु पर्नेमा जोड दिदै जिसीले जिल्लाका सहकारीहरुलाई योजना निर्माणमा जिल्ला सहकारी संघले समन्वय गर्न सुझाव दिनुभयो ।
कार्यक्रममा राष्ट्रिय सहकारी बैकका सञ्चालक राम बहादुर जिसीले रणनीतिक योजनाको महत्वको बारेमा चर्चा गर्दै रणनीतिक सोच, योजना र कार्यान्वयनका बारेमा सहजीकरण गर्नु भएको थियो ।

जिल्ला सहकारी संघ म्याग्दीका अध्यक्ष दिपक कार्कीले संघले विगतदेखि गर्दै आएका कामहरुको बारेमा जानकारी गराउनु भयो । उहाँले संघको भूमिकालाई थप प्रभावकारी बनाउन तथा एउटा लक्ष्यका साथ अगाडि बढ्नका लागि रणनीतिक योजना निर्माण गर्न लागिएको बताउनुभयो ।

कार्यक्रम संघका अध्यक्ष कार्कीको अध्यक्षता, उपाध्यक्ष ज्ञानेन्द्र सुवेदीको स्वागत र सञ्चालक तेजकुमारी बानियाको सञ्चालनमा भएको थियो । २ दिनसम्म सञ्चालन हुने रणनीतिक योजना निर्माण तालिममार्फत संघको आगामी ४ वर्षको रणनीतिक योजना तथा ब्यावसायिक कार्ययोजना तयार पारिने अध्यक्ष कार्कीले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *