धम्जा स्वास्थ्य इकाई : पूर्वाधार छ स्वास्थ्यकर्मी छैनन्


आदर्श अनलाइन, बागलुङ
पूर्वाधार सम्पन्न भएर पनि जनशक्ति अभावमा सामुदायिक स्वास्थ्य एकाइको सेवा प्रभावित बनेको छ । काठेखोला गाउँपालिका–३ स्थित धम्जा सामुदायिक स्वास्थ्य एकाइ एक सातादेखि कार्यालय सहयोगीका भरमा छ ।

अनमी मुना थापा तालिममा सहभागी हुन गएपछि कार्यालय सहयोगी जमुना भण्डारीले एकाइ कुर्दै आएकी छन् । एकाइमा सामान्य बिरामीको पनि जाँच र औषधोपचार हुन नसक्ने स्थिति छ । एकाइ प्रमुख लोकबहादुर भण्डारी दुई महिनाअघि सुरुवा भएर अन्यत्र गएपछि त्यहाँ जनशक्ति अभाव खड्किएको हो ।

विसं २०७५ मा खुलेको एकाइले स्वास्थ्य चौकी सरहकै सेवा दिँदै आएको थियो । स्वास्थ्यकर्मी नै नभएपछि प्रसूति जाँच, खोप लगायतका सेवा पनि रोकिएका छन् । आएका बिरामीलाई सोही वडाको देउरालीमा रहेको स्वास्थ्य चौकीमा पठाउने गरिएको वडाध्यक्ष एवं एकाइ व्यवस्थापन समितिका अध्यक्ष यामबहादुर श्रीसले बताउनुभयो ।
‘एकाइ प्रमुखको सरुवापछि सेवा प्रभावित भएको छ, अब चुनावअघि जनशक्ति व्यवस्थापन हुन नसक्ने देखिएको छ’, अध्यक्ष श्रीसले भन्नुभयो, ‘भइरहेका स्वास्थ्यकर्मी र कर्मचारीबाट सक्दो सेवा दिन्छौँ । जनशक्ति व्यवस्थापनका लागि गाउँपालिकामा कुरा राखेको बताउनुभयो ।

एकाइ व्यवस्थापन र स्वास्थ्यकर्मी÷कर्मचारीको खटनपटन गाउँपालिकाले नै गर्दै आएको छ । यसअघि सेवामा रहनुभएका एकाइ प्रमुख भण्डारीलाई भने देउरालीस्थित स्वास्थ्य चौकीकै दरबन्दीबाट काजमा ल्याइएको थियो । भवन लगायत अरू पूर्वाधारका हिसाबले भने उक्त एकाइ स्वास्थ्य चौकीभन्दा कम छैन ।

प्रदेश सरकारको झन्डै डेढ करोडको लागतमा सो भवन बनेको थियो । सोही भवनको माथिल्लो तलामा अहिले वडा कार्यालयका लागि संरचना बनिरहेको छ । एकाइले एम्बुलेन्स सेवासमेत दिइरहेको अध्यक्ष श्रीसले जानकारी दिनुभयो ।

एकाइमा रहेको कोषबाट उपचारमा अर्थाभाव हुने परिवारलाई बिना ब्याज रु. २५ हजारसम्म ऋण दिने गरिएको छ । अति विपन्न परिवारका बिरामीलाई अवस्था हेरेर आर्थिक सहायता पनि दिने गरिएको छ । एकाइबाट दिगो र प्रभावकारी रुपमा सेवा दिन जनशक्ति व्यवस्थापन नै मुख्य चुनौतीका रुपमा देखिएको छ ।

सोही कारण प्रसूति सेवा सञ्चालन गर्न नसकिएको अध्यक्ष श्रीसले बताउनुभयो । गाउँपालिकाका जनस्वास्थ्य अधिकृत रामचन्द्र लामाले स्वास्थ्य एकाइमा दरबन्दी नहुँदा समस्या निम्तिएको बताउनुभयो । ‘एकाइ खोल्दा एक जना अहेब, अनमी र कार्यालय सहयोगीको दरबन्दी आउँछ भनियो तर अहिलेसम्म माथिबाट आएको छैन,’ उहाँले भने, ‘अब चुनावपछि करारमै भए पनि जनशक्ति व्यवस्थापन गर्छौँ ।’

अधिकृत लामाले वडा नं ७ रेशको सामुदायिक स्वास्थ्य एकाइमा पनि जनशक्ति अपुग रहेको उल्लेख गर्नुभयो । गाउँपालिकाले वडा नं ५ बिहुँ र वडा नं ४ तङ्ग्रामको फापरखेतमा पनि एकाइ स्थापनाका लागि पहल अघि बढाएको छ । भौगोलिक विकटताले स्वास्थ्य चौकी टाढा भएका ठाउँमा सरकारले यस्ता एकाइ खोल्ने गरेको छ ।

एकाइले न्यूनतम पनि ७० थरीका औषधि निःशुल्क उपलब्ध गराउनुपर्ने व्यवस्था छ । जिल्लाको हुग्दीशिर, दर्लिङ, निसी, पैँयूपाटा, जैदी, बोबाङको ढोरपाटन, ग्वालिचौर, अमरभूमि, खुङ्खानी, नर्जाखानी लगायतका ठाउँमा एकाइ सञ्चालनमा छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *