पोखरामा सहकारीका समस्या र समाधान विषयक लघु गोष्ठी

आदर्श अनलाइन, पोखरा

राष्ट्रिय सहकारी बैंक लिमिटेड पोखरा शाखाको आयोजनामा सहकारीको वर्तमान अवस्था, समस्या र समाधान विषयक लघु गोष्ठी शुक्रवार सम्पन्न भएको छ । सहकारीमा देखिएको समस्याहरुको पहिचान गरी बैंक र अभियानका तर्फबाट समस्या समाधानमा पहल गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको बैंकले जनाएको छ ।

कार्यक्रमका सहभागीहरुले तरलता समस्या लगायत सहकारीमा देखिएका समस्याहरुलाई समाधान गर्न राष्ट्रिय सहकारी बैंक र अन्य सरोकारवालाहरुबीच समन्वय हुनु पर्नेमा जोड दिएका थिए । सहकारी क्षेत्रमा आउन सक्ने तरलता समस्यालाई समाधान गर्नका लागि सहकारीको रकम सहकारीमा भन्ने सोच सहकारीकर्मीहरुमा आवश्यक रहेको सहभागीहरुको भनाइ थियो । तरलताको समयमा अति आवश्यक बाहेकका खर्च नगर्ने, भाखा नाघेका ऋण असुलीमा प्रयाप्त ध्यान दिने, सदस्य भेटघाट तथा अन्तरक्रिया र वित्तीय साक्षरता कार्यक्रमलाई जोड दिने, अत्यावश्यक बाहेकका कर्जा बन्द गर्ने, तरलता १५ प्रतिशत कायम गर्न ध्यान दिनु पर्नेमा सहभागीहरुको जोड थियो ।

कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीले सहकारीमा देखिएका तरलता लगायतका समस्या समाधानका सहकारीकर्मीहरुबीच समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभयो । सहकारीको रकम अन्यत्र राखेर अरुलाई सहज बनाउने अनि समस्या पर्दा सहकारी अभियानको खोजी गर्ने प्रवृतिको अन्त्य हुनु पर्नेमा उहाँको जोड थियो ।

कार्यक्रममा कोअपरेटिभ म्यानेजर्स क्लव (सीएमसी) कास्कीका अध्यक्ष अपिल कोइरालाले समुदायमा आधारित सहकारीहरुमा तरलताको समस्या नभएको बताउनुभयो । उहाँले सहकारीलाई सदस्य केन्द्रीत बनाउन, पल्र्स अनुगमन प्रणालीलाई कार्यान्वयन गर्न तथा विधि र प्रविधिको प्रयोग गर्न आव्हान गर्नु भयो ।

कार्यक्रमको उद्देश्य, सहकारीको वर्तमान अवस्था, समस्या र समाधानका विषयमा राष्ट्रिय सहकारी बैंक पोखरा शाखाका प्रमुख नरेश पाण्डेले जानकारी गराउनु भएको थियो । कार्यक्रमको सञ्चालन बैंकका कर्मचारी अमृत श्रेष्ठले गर्नु भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *