केपी ओलीको अभिव्यक्ति फिर्ता लिन जनजाति महासंघको माग

आदर्श अनलाइन, बागलुङ
नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद बागलुङले पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले लखन थापा नेपालको प्रथम सहिद होईन भनेर दिएको अभिव्यक्ति फिर्ता लिन माग गरेको छ । महासंघका अध्यक्ष बम बहादुर गुरुङले आईतबार एक विज्ञप्ती जारी गर्दै भ्रामक अभिव्यक्ति तत्काल फिर्ता लिन माग गरेका छन् । नेपालको प्रजातान्त्रिक आन्दोलनका प्रथम सहिद लखन थापामगर र सिंगो आदिवासी जनजाति समुदायकै अपमान गर्नेगरी दिएको गैरजिम्मेवारपूर्ण अभिव्यक्ति तत्कालन फिर्ता गर्नुपर्ने विज्ञप्तीमा उल्लेख गरिएको छ । ‘नेपालको प्रजातान्त्रिक आन्दोलनका पहिलो सहिद हुनुहुन्छ, क्याप्टेन लखन थापामगर ।

नेपालका प्रथम सहिद क्याप्टेन लखन थापामगर जनस्तरबाट राणाहरुको विरुद्ध आन्दोलन उठाएर तत्कालिन शासकबाट मृत्युदण्ड पाउने पहिलो सहिद हुनुहुन्छ । विक्रम संवत १९३३ फाल्गुण २ गते गोरखाको बुङ्कोटमा राणाशासक जंगबहादुरको आदेशमा क्रुरतापूर्वक झुण्डाएर उहाँलाई मृत्युदण्ड दिइएको थियो,’ विज्ञप्तीमा लेखिएको छ,‘तत्कालिन समयमा राणा शासनको विरुद्धमा आवाज उठाएर विद्रोहको नेतृत्व गर्ने प्रथम सहिद लखन थापामगरलाई विक्रम संवत २०५६ फाल्गुण ११ गते १२३ वर्षपछि जनस्तरबाट प्रथम सहिदको रुपमा घोषणा गरिएको र त्यसपछि आदिवासी जनजाति महासंघ र मगर संघ लगायतका सामाजिक संघ संस्थाहरुको निरन्तरको आन्दोलन र दबावपछि मात्र विक्रम संवत २०७२ असोज ३ गते नेपाल सरकारले आधिकारिक रुपमा प्रथम सहिद घोषणा गरको हो ।’

सरकारले लखन थापामगरलाई प्रथम सहिद घोषणा नगर्नका लागि अनेक प्रपञ्चहरु गरे पनि तथ्य र प्रमाणहरुले लखन थापा नै प्रथम सहिद भएको पुष्टी भएपछि बाध्य भएर घोषणा गरेको र यही तथ्य जगजाहेर हुँदाहुँदै पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गत चैत १८ गते एक कार्यक्रममा लखन थापामगर नेपालको प्रथम सहिद होईनन् भनेर दिएको अभिव्यक्तिप्रति आफुहरुको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ । ‘तथ्य प्रमाणको आधारमा सरकारले घोषणा गरेको प्रथम सहिदको विषयलाई निहित राजनीतिक स्वार्थका लागि तथ्यहीन र भ्रामक प्रचार गर्ने उद्देश्यले गरिमामय पूर्वप्रधानमन्त्री भैसकेको व्यक्तिले दिएको अभिव्यक्तिले सिंगो आदिवासी जनजाति समुदायको अपमान भएको हाम्रो निश्कर्ष छ,’विज्ञप्तीमा उल्लेख छ ।

‘ठूलो संघर्ष र बलिदानपछि प्राप्त उपलब्धीहरु गणतन्त्र, संघियता, समावेशीता, धर्मनिरपेक्षता लगायतका मुद्दाहरुमा समेत उहाँले विगतदेखि नै गरिरहनुभएको निरन्तर प्रहारको श्रृङ्खलाको रुपमा अहिलेको यो अभिव्यक्ति आएको हाम्रो ठहर छ,’ जारी विज्ञप्तीमा भनिएको छ ,‘आफु सत्तामा हुँदा सांस्कृतिक विदा कटौती, आदिवासी जनजाति उत्थान प्रतिष्ठानको बजेट कटौती, लोकसेवा आयोगमा विद्यमान समावेशी सम्बन्धी कानुनको प्रतिकुल रहनेगरी गरिएको विज्ञापन लगायतले उहाँको पश्चगामी सोंचलाई उजागर गरेको छ ।’ महासंघले ओलीको अभिव्यक्ति तुरुन्त फिर्ता लिई यस खालको गतिविधि र अभिव्यक्ति नगर्न नगराउन सम्बन्धित सबैमा सचेत समेत गराएको छ । आदिवासी जनजाति समुदायमाथि यसरी भैरहेको नितरन्तरको आक्रमण नरोकिए यसको परिणाम गम्भीर हुने चेतावनी समेत विज्ञप्ती मार्फत दिईएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *