आदर्श अनलाइन, पोखरा
नेकपा एकीकृत समाजवादीले अस्वाभाविक माग राखेको भन्दै कांग्रेस कास्कीका दुई सचिवले विज्ञप्ति निकालेर गठबन्धन तोडेको घोषणा गरेका छन् । तर, सभापति किशोरदत्त बराल भने गठबन्धन कायम रहेको बताउँछन् ।
उनी अहिले पनि गठबन्धनकै बैठकमा छन् । ‘म बैठकमै छु । गठबन्धन टुटेको कुरा साँचो होइन’, उनले भने, ‘सचिवहरूले किन त्यसो गर्नुभयो, मैले बुझ्न पाएको छैन । विज्ञप्ति निकाल्न मसँग सल्लाह लिनुभएको होइन ।’
अहिले जिल्लाका पालिकामा बाँडफाँट टुंग्याउन गठबन्धनको बैठक होटल दीपसागरमा बसिरहेको छ । एकीकृत समाजवादीका अध्यक्ष धनराज आचार्यले विज्ञप्ति गलत भएको बताए । कांग्रेसकै सभापतिको नेतृत्वमा बैठक बसिरहेको बेला बाहिरिएको विज्ञप्तिले खासै असर नगर्ने उनको भनाइ छ ।
‘गठबन्धनको बैठक चलिरहेको छ । सभापतिज्यू यहीँ हामीसँगै हुनुहुन्छ’, उनले भने, ‘गठबन्धन टुटेको भए बैठक किन चलिरहन्थ्यो, टुटेको छैन । यो कायम रहन्छ ।’ एकीकृत समाजवादीले पोखराको मेयरमा दाबी गरेको छ ।
तर, कांग्रेसले भने जनमत नै नभएको पार्टीले मेयर माग्दा हारिने भन्दै कांग्रेसले नै मेयर पाउनुपर्ने अडान राखेको छ । दुई सचिवले एकीकृत समाजवादीको माग अस्वाभाविक भएकोले उसँग गठबन्धन नहुने विज्ञप्तिसहित जिल्लाका नेता-कार्यकर्तालाई सोहीअनुसार काम अघि बढाउन निर्देशन दिएका छन् ।
0