बागलुङमा सहकारी बैंकको स्तरीकरण कार्यक्रममा सहभागी सहकारीहरुबीच समिक्षा गोष्ठी


आदर्श अनलाइन, बागलुङ

राष्ट्रिय सहकारी बैंक लिमिटेडले सञ्चालन गरेको सहकारीहरुको स्तरीकरण कार्यक्रम अन्तरगत बागलुङ र म्याग्दीमा आवद्ध सहकारी संस्थाहरुका बीच केयर समिक्षा कार्यक्रम शुक्रवार सम्पन्न भएको छ ।

केयरमा आवद्ध एकता सहकारी संस्था लिमिटेड बागलुङको आयोजना तथा राष्ट्रिय सहकारी बैंकको प्राविधिक सहयोगमा शुक्रवार कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बैंकको केयर कार्यक्रममा आवद्ध दुई जिल्लाका ११ वटा संस्थाको वित्तीय अवस्था, सुशासन र आन्तरिक व्यवस्थापन लगायतका विषयमा छलफल भएको थियो ।

सहकारीहरुलाई थप व्यवस्थित र प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि रणनीतिक योजना निर्माण गर्ने, संस्थागत पूँजि वृद्धिको योजना बनाउने, सञ्चालक समिति र उपसमितिका पदाधिकारी तथा सदस्यहरु र कर्मचारीको क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्ने, तरलता व्यवस्थापन लगायतका विषयमा ध्यान दिनु पर्नेमा जोड दिइएको छ ।

केयर कार्यक्रममा आवद्ध सहकारी संस्थाहरुको तर्फबाट बेनी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रमेश गिरीले सहकारीलाई सुरक्षित रुपमा सञ्चालनका लागि आवश्यक नीति तथा कार्यविधिहरु निर्माण गर्न, सुशासन कायम राख्न, वित्तीय रुपमा सक्षम बनाउन तथा समग्रमा सहकारीको स्वास्थ्य अवस्था सुधार गर्नका लागि सहकारी बैंकले सञ्चालन गरेको स्तरीकरण कार्यक्रम प्रभावकारी भएको बताउनुभयो । स्तरीकरण कार्यक्रममा सहभागी भएपछि बैंकको तर्फबाट वर्षमा ३ पटक संस्थागत रुपमा अनुगमन निरीक्षण गरी सुझाव दिने र सुझावहरु कार्यान्वयन गर्दै जादा संस्थालाई धेरै व्यवस्थित गराउन सहज भएको गिरीको भनाइ थियो ।

कार्यक्रम समापनका क्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीले सहकारीहरुलाई प्रभावकारी रुपमा सञ्चालनका लागि स्तरीकरण कार्यक्रम आवश्यक रहेको बताउनु भयो । उहाँले सहकारीलाई नीतिगत रुपमा भन्दा पनि विगतको अभ्यासका आधारमा सञ्चालन गर्ने अवस्थाका कारण कतिपय सहकारीमा समस्या आएको भन्दै सुधारका लागि स्तरीकरण कार्यक्रममा सहभागी हुन आव्हान गर्नु भयो । कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका विभागिय प्रमुख रामबाबु आचार्य र स्तरीकरण विभागका अधिकृत नवकुमार अधिकारीले सहजीकरण गर्नु भएको थियो । उहाँहरुले संस्थाहरुको अवस्थाको बारेमा जानकारी गराउदै सुधारका लागि आवश्यक सुझावहरु समेत दिनु भएको थियो ।

एकता सहकारी संस्थाका अध्यक्ष ध्रुव प्रसाद शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका संरक्षक देव बहादुर श्रेष्ठ, जिल्ला सहकारी संघ बागलुङ निवर्तमान उपाध्यक्ष अशोक गोविन्द राजभण्डारी लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन एकता सहकारी संस्थाका सचिव महेन्द्र कंडेल र स्वागत सञ्चालक बाबुकाजी केसीले गर्नु भएको थियो ।

राष्ट्रिय सहकारी बैंकले सञ्चालन गरेको स्तरीकरण कार्यक्रम अन्तरगत केयर कार्यक्रममा बागलुङबाट आदर्श सञ्चार सहकारी संस्था, एकता सहकारी संस्था, अभियान बहुउद्देश्यीय सहकारी संस्था, बागलुङ बहुउद्देश्यीय सहकारी संस्था, प्रगति बहुउद्देश्यीय सहकारी संस्था र शंखधर बहुमुखी सहकारी संस्था गरी ६ वटा संस्था आवद्ध भएका छन् । यस्तै म्याग्दीबाट बेनी बचत तथा ऋण सहकारी संस्था, विश्वामित्र बचत तथा ऋण सहकारी संस्था, संगिनी बचत तथा ऋण सहकारी संस्था, मुक्तिनाथ बहुउद्देश्यीय सहकारी संस्था र लोकदिप वचत तथा ऋण सहकारी संस्था गरी ५ वटा संस्था केयर कार्यक्रममा आवद्ध भएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *