धम्जाबाट सुरु गर्यो पाँच दलीय गठबन्धनले चुनावी अभियान

आदर्श अनलाइन, बागलुङ
जिल्लाको काठेखोला गाउँपालिकामा पाँच दलीय गठबन्धनको चुनावी सभा शनिबार धम्जाबाट सुरु भएको छ । काठेखोला गाउँपालिका—३ धम्जामा चुनावी सभा आयोजना गरी गठबन्धनले काठेखोलाको निर्वाचन प्रचार अभियान सुरु गरेको हो । कार्यक्रममा बोल्दै नेपाली काँग्रेस बागलुङका सभापति जीत शेरचनले काठेखोलाको समृद्धि र विकासका लागि पाँच दलिय गठबन्धनका साझा उम्मेदवारलाई जिताउन आग्रह गरे ।

‘यस अगाडि तपाईहरुले काठेखोलामा एमालेलाई मत दिएर विजय गराउनुभयो,’ उनले भने,‘अहिले पाँच वर्षमा के भए भएन तपाईहरुले भोग्नुभएको छ । यहाँको विकास र उन्नतीका लागि काँग्रेस नेतृत्वको गठबन्धन दलहरु मिलेर अहिले संयुक्त रुपमा आएका छौं । गठबन्धनका साझा उम्मेदवारलाई विजयी गराई यहाँको विकास र आर्थिक उन्नतीमा हातेमालो गर्न यहाँ जनसमुदायलाई म आग्रह गर्दछु ।’ कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य कृष्ण केसीले ओली प्रवृत्तिको विरुद्ध पाँच दलिय गठबन्धन बनेको बताए ।

‘देशमा ओलीको अतिवादको विरुद्धमा हामीले पाँच दलिय गठबन्धन बनाएर मोर्चा कसेका छौं,’ उनले भने,‘हामीले कुनै पार्टीको विरुद्ध गठबन्धन गरेका होईनौं प्रवृत्ति विरुद्ध गरेका हौं । ओलीले देशलाई जबरजस्त प्रतिगमनतर्फ लगेपछि गठबन्धन तयार भएको हो ।’ माओवादी केन्द्रकी केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज बलावती शर्माले गठबन्धन दलको चुनावी अभिायन काठेखोलाको धम्जाबाट सुरु भएको र यसले जिल्लाभर गठबन्धनको पक्षमा चुनावी माहोल सिर्जना गर्ने बताईन् । ‘आज हामीले यहाँबाट चुनावी अभियान सुरु गरेका छौं,’ उनले भनिन्,‘यो अभियानले बागलुङ जिल्लाभरी नै गठबन्धनको पक्षमा चुवानी माहोल सिर्जना गर्नेछ । जिल्लाभरी नै गठबन्धनका उम्मेदवारहरुले विजयी प्राप्त गर्नुहुनेछ ।’

कार्यक्रममा नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य एवं जिल्ला ईन्चार्ज श्रीप्रसाद शर्माले ओलीको प्रतिगमन विरुद्ध अग्रगामी शक्तिको मोर्चा तयार भएको बताए । ‘संविधान र देश नै धरापमा पारेर ओलीले पटक पटक संसद विघटन गरे,’ उनले भने,‘त्यसको विरुद्धमा हामीले पार्टी भित्रैबाट विद्रोह ग¥यौं र अग्रगामी शक्तिहरुको मोर्चा बनायौं । अहिले हामी संयुक्त रुपमा गठबन्धन गरेर स्थानीय निर्वाचनमा होमिएका छौं । स्थानीय निर्वाचनमा ओली प्रवृत्तिका पक्षधरहरुलाई परास्त गरेर अग्रगमन पक्षलाई विजयी गराउन आग्रह गर्दछु ।’

कार्यक्रममा नेकपा एकीकृत समाजवादी पार्टीका जिल्ला अध्यक्ष लालबहादुर थापाले हुँदा छँदा दुई तिहाईको सरकार चलाउन नसकेर ओलीले संसद विघटन गरेकाले उनका अनुयायीहरुलाई स्थानीय सरकारको जिम्मा सुम्पिनु आफैलाई धोका दिनु भएको बताए । ‘केपी ओलीले दुई तिहाई बहुमतको सरकार चलाउन सकेनन् र देशलाई प्रतिगमनतर्फ धकेल्ने गरी संसद विघटन गरे,’ उनले भने,‘अहिले स्थानीय निर्वाचनमा फेरी उनकै अनुयायीहरु विकास र समृद्धिका सस्ता नारा लिएर तपाईको घर आगनमा आएका छन् । भएको सरकार चलाउन नसक्नेहरुको पछि लाग्नेबाट तपाईको गाउँ ठाउँको विकास र समृद्धि सम्भव छैन । त्यसैले पाँच दलिय गठबन्धनका साझा उम्मेदवारलाई मतदान गर्नुहोस् ।’

कार्यक्रममा बोल्दै पाँच दलिय गठबन्धनको तर्फबाट गाउँपालिका अध्यक्षका साझा उम्मेदवार राजु थापाले स्थानीय विकास र पूर्वाधारका लागि आफुले काम गर्ने बताए । ‘यहाँको विकास र समृद्धिका लागि म तपाईहरुको घरदैलोमा मत माग्दै आएको छु,’ उनले भने,‘यो क्षेत्रको समग्र आर्थिक सामाजिक र भौतिक क्षेत्रको विकास लागि हामीले संकल्प गरेर अगाडि बढेका छौं ।’ उनले महिला दिदी बहिनीहरुलाई संगठित गर्दै सीप मूलक र उत्पादन मूलक तालिम प्रदान गरेर स्वरोगार बन्न सघाउने समेत बताए । कार्यक्रममा राष्ट्रिय जनमोर्चाका नेता गठबन्धनका गाउँपालिका उपाध्यक्ष उम्मेदवार तेजबहादुर पुन तिलकले गाउँमै सहज ढंगबाट स्वास्थ्य शिक्षाको व्यवस्था गर्ने बताए ।

‘सुलभ रुपमा स्वास्थ्य शिक्षाको व्यवस्था गाउँमै गर्छौं,’ उनले भने,‘यहाँको नागरिकलाई सहज हुनेगरी योजनावद्ध ढंगले काम गर्छौं ।’ कार्यक्रममा काठेखोला—३ धम्जाका गठबन्धनका वडाध्यक्ष उम्मेदवार यामबहादुर श्रीसले विगतमा काम गर्दै गर्दा अधुरा रहेका कामहरु पूरा गर्नका लागि गठबन्धन उम्मेदवारहरुलाई मतदान गर्न आग्रह गरे ।

नेपाली काँग्रेस काठेखोला गाउँपालिका—३ का सभापति दीपेन्द्र रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेश संसदीय दलका नेता पियारी थापा सुप्रभा, नेपाली काँग्रेस बागलुङकी सहसचिव एवं काठेखोला निर्वाचन परिचालन समिति संयोजक ज्ञानुकुमारी श्रीस शर्मा, माओवादी केन्द्रकी नेता केशरी घर्ती, नेपाल भूतपूर्व सैनिक संघ बागलुङका अध्यक्ष एवं केन्द्रीय सदस्य क्याप्टेन हरिबहादुर भण्डारी, काठखोला—३ धम्जाका खुला वडा सदस्य उम्मेदवार कृष्णबहादुर थापा, दलित महिला सदस्य सुन्तली विक लगायतले मन्तव्य राखेका थिए ।

काठेखोला गाउँपालिकामा गठबन्धनको तर्फबाट रुख चिन्ह लिएर काँग्रेसका राजु थापा गाउँपालिका अध्यक्ष, गिलास चिन्ह लिएर गाउँपालिका उपाध्यक्षमा राष्ट्रिय जनमोर्चाका तेजबहादुर थापा तिलक उम्मेदवार बनेका छन् । काठेखोला—३ धम्जामा कलम चिन्ह लिएर वडाध्यक्षमा यामहादुर श्रीस, खुला वडा सदस्यमा रिमबहादुर थापा, कृष्णबहादुर थापा, महिला सदस्यमा देउरुपा खड्का र दलित महिला सदस्यमा सुन्तली विक उम्मेदवार बनेका छन् ।

राष्ट्रिय जनमोर्चाका रिम थापाले स्वागत गरेको कार्यक्रमको सञ्चालन नेकपा एकीकृत समाजवादी पार्टीका नविन थापाले गरेका थिए । कार्यक्रमका अवसरमा १८ जना युवाहरु नेकपा एमाले परित्याग गरी गठबन्धन उम्मेदवारहरुलाई सहयोग गर्ने गरी गठबन्धनमा समाहित भएका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *