मल्ममा गठबन्धनको चुनावी अभियान सुरु

आदर्श अनलाइन, बागलुङ
सत्ता साझेदार दलको संयुक्त गठबन्धनले गलकोट नगरपालिका–७ मल्ममा सोमबारदेखि औपचारिक रुपमा चुनाव प्रचार अभियान थालेको छ । बामियाँमा संयुक्त प्रचार भेलाको आयोजना गरी घरदैलो र जनभेटघाट कार्यक्रमको सुरुआत गरिएको नेकपा (माओवादी केन्द्र)का वडा सचिव बाबुराम थापाले जानकारी दिनुभयो । सोमबार बामियाँसँगै आँगाखेत, गहते र मादाराटोलमा घरदैलो गरिएको उहाँको भनाइ छ ।

मङ्गलबार ब्राहमुरी, नरौदीखोला, बतासेडाँडा, खोलापारीलगायतका टोलमा चुनावी प्रचार अभियान सञ्चालन हुने जनाइएको छ । गठबन्धनले आफ्ना उम्मेदवारसहित मतदाताको घरघरै पुगेर मत मागिरहेको छ । प्रचार अभियानमा नगर प्रमुखका उम्मेदवार भरत शर्मा ‘गैरे’, उपप्रमुखका उम्मदेवार फमलाल निउरे, वडाध्यक्षका उम्मेदवार राज थापालगायत सहभागी थिए । अभियान शुभारम्भका बेला नेपाली काँग्रेसका नगर सभापति वीरजङ्ग भण्डारीसहितले मन्तव्य राखेका थिए भने उम्मेदवारहरुले आआफ्ना चुनावी प्रतिबद्धता व्यक्त गरेका थिए । नगर सभापति भण्डारीले केन्द्रदेखि वडा तहसम्म नै पाँच दलीय गठबन्धन बनेकाले मल्ममा पनि गठबन्धनमा आबद्ध दलहरु मिलेर चुनावमा जानुको विकल्प नरहेको बताउनुभयो । उहाँले गठबन्धनका पक्षमा एकढिक्का भएर चुनावमा होमिन काँग्रेसका नेता, कार्यकर्तालाई आग्रह गर्नुभयो । मल्ममा नेकपा (माओवादी केन्द्र), नेपाली काँग्रेस र राष्ट्रिय जनमोर्चा संयुक्त गठबन्धनमा छन् ।

माओवादी केन्द्रबाट वडाध्यक्षमा राज थापा, सदस्यमा छविलाल दर्जी, दलित महिला सदस्यमा यानु विक, नेपाली काँग्रेसबाट सदस्यमा ज्ञानबहादुर कार्की र राष्ट्रिय जनमोर्चाबाट यशोदा थापा महिला सदस्यको उम्मेदवार हुनुहुन्छ । गठबन्धनका तर्फबाट वडाको संयुक्त प्रतिबद्धता पत्र पनि सार्वजनिक गरिने भएको छ । प्रतिबद्धता पत्र लेखन र छपाइको काम अन्तिम चरणमा पुगेको जनाइएको छ । मतदानको दिन नजिकिएसँगै गठबन्धन दलले मल्ममा चुनावी प्रचारलाई तीव्र पारेका हुन् । चुनावी अभियान शुभारम्भ समारोहको अध्यक्षता नेपाली काँग्रेसका वडा सभापति बसन्त क्षत्रीले गर्नुभएको थियो । राष्ट्रिय जनमोर्चाका प्रदेश कमिटी सचिव बेदीलाल सापकोटाको स्वागत मन्तव्य र माओवादी केन्द्रका वडाध्यक्ष ललित मरासिनीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *