म्याग्दीमा जिसस गठनका लागि एमालेको एकल बहुमत


आदर्श अनलाइन, बागलुङ
म्याग्दीमा जिल्ला समन्वय समिति गठनका लागि नेकपा (एमाले)लाई स्पष्ट बहुमत आएको छ । स्थानीय तहका प्रमुख–अध्यक्ष र उपप्रमुख–उपाध्यक्षले मतदान गर्ने जिससका लागि जिल्लामा १२ मतदाता छन् । स्थानीय तहको निर्वाचित जनप्रतिनिधि उम्मेदवार हुने जिससका लागि एमालेले एकल बहुमत बनाएको हो ।

छमध्ये तीनवटा गाउँपालिकामा अध्यक्ष–उपाध्यक्ष र बेनी नगरपालिकामा प्रमुख जितेकाले जिसस गठनका लागि एकल बहुमत पुगेको एमाले म्याग्दीका अध्यक्ष देवेन्द्र कटुवालले जानकारी दिनुभयो । सात मतदाता भएमा जिल्लाको जिसस गठनका लागि बहुमत पुग्छ । जिल्लामा एमालेबाट निर्वाचित अध्यक्ष–उपाध्यक्ष र प्रमुखको सङ्ख्या सात छन् । बेनी नगरपालिकाको वडा नंं १ रत्नेचौरबाट वडा सदस्यमा निर्वाचित राजकुमार थापा जिल्ला समन्वय समितिको प्रमुखको दावेदार देखिनुभएको छ ।

यसअघि गोलाप्रथाबाट जिल्लाको जिससमा प्रमुख–उपप्रमुख चयन गरिएको थियो । सदस्यहरू एमाले, कांग्रेस, माओवादी र राप्रपाले सहमतिमा बाँडेका थिए । कांग्रेसको छ, एमालेको पाँच र राप्रपाको एक मतदाता भएपछि गोलाप्रथाबाट चार दलको सहभागितामा एमालेका जिल्ला अध्यक्षसमेत रहनुभएका कटुवालको नेतृत्वमा जिसस गठन गरिएको थियो ।

यसपालि एमालेले मालिका, अन्नपूर्ण, मङ्गलामा अध्यक्ष–उपाध्यक्ष र बेनीमा नगरप्रमुख जितेको छ । धवलागिरि गाउँपालिकामा अध्यक्षमा विजयी भएको कांग्रेसले रघुगङ्गामा अध्यक्ष, उपाध्यक्ष दुवै जितेको छ । नेकपा (माओवादी केन्द्र)ले बेनी नगरपालिकाको उपप्रमुख र धवलागिरि गाउँपालिकाको उपाध्यक्ष जितेको छ । जिल्लाका ४५ मध्ये एमालेले २२, कांग्रेसले १७ र माओवादीले छवटा वडामा जितेका छन् ।

दुईवटा स्थानीय तहको सभामा एमाले र एकवटाको सभामा कांग्रेसको बहुमत छ । बेनी नगरपालिका, धवलागिरि र मालिका गाउँपालिकाको सभामा बहुमत पु¥याउन माओवादीबाट जितेका जनप्रतिनिधि निर्णायक हुने देखिएको छ । कार्यपालिकाको सदस्य निर्वाचनका लागि दुवै दलको एकल बहुमत नपुग्ने तीन पालिकामा माओवादी निर्णायक हुने देखिएको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *