चोरी र लागुऔषध नियन्त्रणको लागि बागलुङ प्रहरीको छुट्टै टिम परिचालन

रोहन जि.सी, बागलुङ
जिल्ला प्रहरी कार्यालय बागलुङले सोमबार जिल्लामा क्रियाशिल पत्रकारहरुसंग छलफल तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा हालै सम्पन्न स्थानीय तहको निर्वाचन तथा जिल्ला भित्र भइरहेका गतिविधिको बारेमा समिक्षा तथा अन्तरक्रिया कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय बागलुङका कार्यालय प्रमुख प्रहरी उपरिक्षक दयानिधी ज्ञवालीले प्रहरीले चोरी तथा लागूऔषधमा विशेष जोड दिई थप अध्ययन अनुसन्धान गरिरहेको बताउनुभयो ।

उहाँले प्रहरी निरीक्षक भुपेन्द्र गिरीको संयोजकत्वमा चोरी नियन्त्रण, फरार अभियुक्त पक्राउ तथा लागुऔषध नियन्त्रणका लागि १० जनाको समुह बनाएर काम थालिएको बताउनुभयो ।

सरकारले हप्तामा दुई दिन सार्वजनिक विदा दिएको समयमा पनि सरकारी कार्यालयका सवारी साधनहरु गुडिरहेका हुनाले त्यस्ता सवारी साधनलाई नियन्त्रणमा लिएर कारर्वाही गरिरहेको जानकारी दिनुभयो । ‘हामीले चेक गर्दा नेपाल सरकारले दिएको हप्तामा दुई दिन सार्वजनिक विदाको दिन पनि सरकारी सवारीहरु गुडिरहेको पायौंँ, त्यस्ता सवारी साधनहरुलाई नियन्त्रणमा लिइरहेका छौँ’ ज्ञवालीले भन्नुभयो ।

बागलुङमा रहेको विश्वकै लामो झोलुङ्गे पुलमा पनि पर्यटकहरुको निकै भिड रहने र राजमार्ग भएकाले सम्भावित दुर्घटना हुनसक्ने भन्दै तुरुन्तै केहि योजना बनाई कार्यान्वयन गर्ने उहाँले बताउनुभयो ।

छलफल कार्यक्रममा सहभागी सञ्चारकर्मीहरुले सदरमुकाममा चर्को आवाज बनाई गुड्ने सवारी साधनले ध्वनी प्रदुषण बढाउँदै गएको गुनासो गरेका थिए । मोडिफाईड मोटरसाईकल तथा स्कुटरले त्यस्ता समस्या सिर्जना गर्ने भएकाले ज्ञवालीले जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङलाई सो प्रकारका मोटरसाईकल तथा स्कुटरलाई १० दिन भित्र नियन्त्रण गर्नका लागि निर्देशन समेत दिनुभएको थियो ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी अधिकारीहरुले अपराध नियन्त्रणका लागि सबैको सहकार्य आवश्यक रहेको बताउनुभयो ।

तेसैगरी शान्तिपूर्ण निर्वाचन सम्पन्न गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बागलुङ सम्मानित भएको प्रहरी नायव उपरिक्षक तथा सूचना अधिकृत इन्द्र बहादुर रानाले बताउनुभयो । निर्वाचन आयोगले गण्डकी प्रदेशकै संवेदनशिल जिल्लाको वर्गिकरण गरेको बागलुङ जिल्लामा स्थानीय तह निर्वाचन २०७९ भयरहित, शान्तिपूर्ण रुपले सम्पन्न गरेको भन्दै प्रदेश प्रहरी कार्यालयले सम्मान रानाले बताउनुभयो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका प्रमुख राजकुमार के.सीले बागलुङको ट्राफिक व्यवस्थापन तथा समस्याका बारेमा जानकारी दिनुभएको थियो ।

कार्यक्रममा सहभागी पत्रकारहरुले जिल्लामा बढ्दै गएको चोरीका घटनाहरु र ट्राफिक व्यवस्थापनमा देखिएको समस्याका विषयमा गुनासो तथा धारण व्यक्त राखेका थिए ।

अन्तरक्रिया कार्यक्रम जिल्ला प्रहरी कार्यलय बागलुङका प्रहरी निरीक्षक भुपेन्द्र गिरीको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *