बडिगाडको अध्यक्षमा पराजित राजन मतदातालाई धन्यवाद दिन गाउँगाउँमा

रोहन जि.सी., बागलुङ
निर्वाचनमा विजय भएपछि मतदाताहरुबाट वधाई तथा शुभकामना लिने काम नौलो होइन । स्थानीय तह निर्वाचनमा विजयी उमेदवारहरुलाई वधाई र शुभकामना लिन तछाड मछाड छ । एकै दिनमा दर्जन भन्दा बढी ठाउँका कार्यक्रममा पुगेर नवनिर्वाचित जनप्रतिनिधिहरुले वधाई तथा शुभकामना ग्रहण गरिरहेका छन् ।

विजयी भएका उमेदवारले मात्रै होइन, बडिगाड गाउँपालिकामा अध्यक्षमा पराजित राजन पाइजाले पनि आफुलाई मत दिएका मतदातालाई धन्यवाद दिन अभियान नै सञ्चालन गर्नु भएको छ ।

नेकपा एमालेका तर्फबाट बडिगाड गाउँपालिकामा अध्यक्षका उमेदवार पाइजाले शुक्रवारदेखि मतदातालाई धन्यवाद दिने कार्यक्रमको शुभारम्भ गर्नु भएको छ । नेकपा एमाले बडिगाड गाउँपालिका कमिटिले मतदातालाई धन्यवाद ज्ञापन कार्यक्रम सञ्चालन गरेपछि अध्यक्षका उमेदवार राजन पाइजा, उपाध्यक्षका उमेदवार मिन कुमारी माझी सहित पार्टीका नेताहरु, वडा अध्यक्ष तथा सदस्यका उमेदवारहरु सहित मतदातालाई धन्यवाद दिन गाउ पसेको एमालेले जनाएको छ ।

निर्वाचनमा पराजित भए पनि जनताले विश्वास गरेर मत दिएका छन्, उनीहरुलाई धन्यवाद ज्ञापन गरेर सान्त्वना दिन पनि उमेदवारहरु गाउँ गाउँमा पुग्नु पर्ने भन्दै एमाले बडिगाड गाउँपालिका कमिटिले धन्यवाद ज्ञापन अभियान सञ्चालन गरेको छ ।

पार्टीले सञ्चालन गरेको अभियान अन्तरगत शुक्रवार बडिगाड गाउँपालिका वडा नं. १ र ३ मा मतदाता भेटघाट गरी धन्यवाद ज्ञापन गरिएको छ । शनिवारदेखि क्रमश सबै वडामा मतदाता धन्यवाद कार्यक्रम गरिने एमाले जिल्ला सचिव विष्णु भुषालले जानकारी दिनुभयो ।

धन्यवाद ज्ञापन कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश कमिटिका सदस्य हिरामणी आचार्य, जिल्ला कमिटि सचिव विष्णु भुषाल सहितका नेताहरुको सहभागिता रहेको थियो । वडा नं. १ मा वडा अध्यक्षका उमेदवार तथा पालिका कमिटि सचिव दिनेश थापा, वडा सदस्यका उमेदवार बेल बहादुर थापा, वडा नंं ३ मा वडा अध्यक्षका उमेदवार खड्क बहादुर पुन, वडा कमिटि अध्यक्ष गोपिराम काउचा लगायतको सहभागिता रहेको थियो ।

बडिगाड गाउँपालिकाका १० वडा मध्ये एमालेले वडा नं. २, ३ र ५ मा विजय हासिल गरेको थियो । स्थानीय तह निर्वाचन २०७४ मा मेहरसिंह पाइजालाई उमेदवार बनाएर विजयी भएको एमालेले यस पटक पाइजाका छोरा राजन पाइजालाई उमेदवार बनाएको थियो । पाइजा नेपाली कांग्रेसका गण्डकी थापा अधिकारीसंग पराजित हुनु भएको हो । अधिकारीलाई अघिल्लो निर्वाचनमा मेहरसिंह पाइजाले पराजित गर्नु भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *