मतदातालाई धन्यवाद दिँदै राजन : ‘मत पुगेन तर मन कमजोर भएको छैन’

रोहन जि.सी., बागलुङ
बडिगाड गाउँपालिकामा अध्यक्षमा पराजित राजन पाइजा निर्वाचनमा मत दिने मतदातालाई धन्यवाद दिन गाउँ पुग्नु भएको छ । नेकपा एमालेका तर्फबाट बडिगाड गाउँपालिकामा अध्यक्षका उमेदवार पाइजाले शुक्रवारदेखि मतदातालाई धन्यवाद दिने कार्यक्रमको शुभारम्भ गर्नु भएको थियो ।

नेकपा एमाले बडिगाड गाउँपालिका कमिटिले मतदातालाई धन्यवाद ज्ञापन कार्यक्रम सञ्चालन गरेपछि अध्यक्षका उमेदवार राजन पाइजा, उपाध्यक्षका उमेदवार मिन कुमारी माझी सहित पार्टीका नेताहरु, वडा अध्यक्ष तथा सदस्यका उमेदवारहरु सहित मतदातालाई धन्यवाद दिन गाउ पसेको एमालेले जनाएको छ ।

पार्टीले सञ्चालन गरेको अभियान अन्तरगत शनिवार वडा नं. ४ र ५ का मतदातालाई धन्यवाद ज्ञापन गरिएको छ । तपाइहरुले विश्वास गरेर मत दिनुभयो, यहाँहरुले गरेको विश्वासप्रति सम्मान गर्दै धन्यवाद ज्ञापन गर्दछौ, अध्यक्षका उमेदवार पाइजाले भन्नुभयो–‘प्राविधिक रुपमा गाउँपालिकाको नेतृत्व गर्ने मत पुगेन, मत नपुगे पनि गाउँपालिकाको विकास गर्ने मन कमजोर भएको छैन, हामी निरन्तर जनताको साथमा रहेर काम गर्नेछौ ।’

धन्यवाद ज्ञापन कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश कमिटिका सचिवालय सदस्य तथा बडिगाड गाउँपालिकाका निवर्तमान अध्यक्ष मेहरसिंह पाइजा, प्रदेश कमिटि सदस्य हिरामणी आचार्य, जिल्ला कमिटि सचिव विष्णु भुषाल, नेकपा एमाले बडिगाड गाउँपालिकाका अध्यक्ष कमलराज आचार्य, वडा नं. ५ का वडा अध्यक्ष विष्णु आचार्य सहितका नेताहरुको सहभागिता रहेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *