मौसम खराब हुँदा तारा एयरको जहाज खोज्न समस्या

आदर्श अनलाइन, पोखरा

पोखराबाट जोमसोम जाँदै गर्दा सम्पर्कविहीन भएको तारा एयरको जहाजको खोजीमा प्रतिकूल मौसम बाधक बनेको छ । मौसम खराब भएका कारण खोजी कार्यमा कठिनाइ भएको मुस्ताङ प्रहरीले जनाएको छ ।

गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलका अनुसार मुस्ताङ र पोखराबाट दुई वटा निजी हेलिकोप्टर प्रयोग गरेर जहाजको खोजी भइरहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविदका अनुसार आज बिहानैदेखि मुस्ताङसहितका उच्च पहाडी र हिमाली भागमा बदलीको अवस्था छ । अपराह्नदेखि मौसम अझै प्रतिकूल हुने पूर्वानुमान गरिएको छ । मौसमविद हिरा भट्टराईले भने, ‘मुस्ताङको थाकमार्फा केन्द्रमा ०.२ मिलिमिटर पानी परेको रेकर्ड छ, जसलाई हामी नगन्य भन्छौं । तर उच्च पहाडी र पहाडी क्षेत्रका अधिकांश स्थानमा आज बिहानैदेखि बदलीको अवस्था थियो ।’ उनले आज अपराह्नदेखि सो क्षेत्रमा मौसम अझै प्रतिकूल हुने पूर्वानुमान गरिएको बताए ।

मौसमविद भट्टराईले भने, ‘अपराह्न हुँदै जाँदाखेरि पानी पर्ने सिस्टम झन् बलियो हुँदै जाने देखिन्छ । त्यसैले पोखरा, मुस्ताङ एरियातिर आकाश खुल्ने सम्भावना धेरै कम छ । तराईतिर भने अलि–अलि खुल्ला ।’

घाँसाका स्थानीय विशाल शेरचनका अनुसार त्यहाँ बादल अहिले लागिरहेको छ र पानी पनि परिरहेको छ । हिमाली र उच्च पहाडी धेरै भागमा मौसमबारे सूचना दिने स्टेशनहरु प्रयाप्त छैनन् । त्यसैले सूचना संकलनमा समस्या हुने गरेको मौसमविदहरु बताउँछन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *