पोखराका मेयर धनराजको पक्षमा लागेको भन्दै एमालेका तीन जना कारवाहीमा

आदर्श अनलाइन, पोखरा
गत स्थानीय तहको निर्वाचनमा पोखरा महानगरपालिकाको प्रमुखमा एमालेबाट उम्मेदवार रहेका कृष्ण थापाको विरुद्धमा लागेको भन्दै एमालेले तीन जनालाई कारवाही गरेको छ।

चुनावको बेलामा बाहिर आएको अडियो प्रकरणमा मुछिएकाहरूलाई कारवाही स्वरूप पार्टीबाट निष्काशन गरिएको नेकपा एमाले कास्कीका जिल्ला कमिटी अध्यक्ष मनबहादुर गुरुङले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।

स्थानीय तहको निर्वाचनका बेला पार्टीका उम्मेदवार कृष्ण बहादुर थापालाई असहयोग गरी गठबन्धनका उम्मेदवारलाई सहयोग गर्ने भन्दै सार्वजनिक अडियाेको आधारमा तीन जनालाई पार्टीबाट निष्काशन गरिएको हो। कारवाहीमा पर्नेमा मनोज पहारी, महेश अर्याल र प्रशान्त आचार्य रहेका छन्।

विज्ञप्तिमा पोखरा–२१ का सङ्गठित सदस्य रहेका पहारी, पोखरा–३३ का उपाध्यक्ष अर्याल र पोखरा–३३ कै सङ्गठित सदस्य आचार्यलाई निलम्बन र सङ्गठित सदस्य नरहने गरी कारबाही गरिएको हो।

‘त्यस क्रममा सार्वजनिक भएका भ्वाइस क्लिप र त्यसमा संलग्न व्यक्तिहरूसँग पार्टीका सम्बन्धित व्यक्तिहरूले स्पष्टीकरण सोधी निजहरुको बारेमा पार्टी विधानको धारा ८० अनुसारको अनुशासन उल्लङ्घन गरिएको ठहर गरी धारा ८१ बमोजिम कारबाही प्रक्रिया अघि बढेको जानकारी गराउँदछौँ,’ एमाले कास्कीले विज्ञप्ति सार्वजनिक गर्दै भनेको छ।

निर्वाचनका बेला नेकपा एमालेका उम्मेदवारलाई हराउनका लागि भन्दै मनोज, महेश र प्रशान्तको आवाजमा अडियो सार्वजनिक भएको थियो। अडियाेमा एमालेका उम्मेदवार कृष्णबहादुर थापालाई हराउँदै गठबन्धनका उम्मेदवार धनराज आचार्यलाई जिताउने कुरा भएको थियो। सो कुरा बाहिरिएसँगै नेकपा एमालेमा खैलाबैला मच्चिएको थियो।

अडियो बाहिरिएको बेलामा नै उनीहरूलाई कारवाही गर्दा चुनावमा नराम्रो नतिजा आउन सक्ने सम्भावनाका कारण एमाले चुप बसेको भए पनि उनीहरूलाई निर्वाचन लगत्तै कारवाही भएको छ। पोखरा महानगरका विभिन्न वडालाई एमालेका गढ मान्ने गरेको भए पनि ती ठाउँमै एमालेका उम्मेदवार थापालाई चित्त बुझ्दो मत परेन।

जसका कारण गठबन्धन अन्तर्गत नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्य विजयी बने।

यो पनि पढ्नुहोस्