गठबन्धन गरेर चुनाव जितिएला तर देश बन्दैन : एमाले महासचिव पोखरेल

आदर्श अनलाइन, ललितपुर
नेकपा एमालेका महासचिव शंकर पोखरेलले दलहरुबीचको गठबन्धन चुनाव जित्नका लागि काम लागेपनि मुलुक निर्माणका लागि काम नलाग्ने बताउनु भएको छ । गठबन्धनबाट मुलुक बन्दैन भन्ने कुरा विश्वका धेरै मुलुकमा प्रमाणित भएको कुरा हो, हाम्र्र्र्रै देशमा हेर्ने हो भने पनि एमालेलाई सक्ने उद्देश्यका साथ बनेको गठबन्धन र त्यसको नेतृत्वमा रहेको सरकारले ११ महिनामा गरेका कामबाट मुलुक निर्माणमा गठबन्धन काम नलाग्ने प्रष्ट हुने उहाँको भनाइ थियो ।

एमाले पार्टी मुख्यालय ललितपुरमा शनिवार सहकारी तथा गरिवी निवारण विभागको पहिलो वैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले विदेशी मुद्राको सञ्चिती, मूल्यवृद्धि, रेमिटेयान्स लगायतका क्षेत्रमा देखिएका समस्याबाट गठबन्धनको हालत प्रस्ट हुने बताउनुभयो । एमाले भित्र पनि आगामी निर्वाचनमा गठबन्धन गरेर जानु पर्ने विषय चल्न थालेको छ, चुनाव जित्नका लागि गठबन्धन ठिक भए पनि मुलुक निर्माणका लागि गठबन्धन काम लाग्दैन, महासचिव पोखरेलले भन्नुभयो–‘मुलुक निर्माणका लागि एमालेलाई बलियो राष्ट्रिय शक्तिका रुपमा स्थापित गर्नु पर्दछ ।’ राष्ट्रिय शक्ति बन्ने अवसरबाट कांग्रेस चुकेको भन्दै पोखरेलले स्थानीय तह निर्वाचनको वस्तुनिष्ठ समिक्षा गरी त्यसका कमीकमजोरीलाई सच्याउदै एमालेलाई शसक्त र बलियो शक्तिका रुपमा स्थापित गर्न पार्टीको सिंगो पंक्ति जुट्नु पर्नेमा जोडदिनुभयो । एमालेलाई मत दिने जनता बढेका छन्, महागठबन्धन, आन्तरिक व्यवस्थापन सुधार गर्न नसक्नु, राज्यका तर्फबाट भएको ज्यादती, पैसाको बढी चलखेल जस्ता कारणले सिट संख्यामा केही कमी भए पनि समग्र लोकप्रिय मतमा एमाले कमजोर छैन भन्ने तथ्य निर्वाचनले पुष्टी गरेको उहाँले बताउनुभयो ।

एउटा संकल्पका साथ अगाडि बढौ, पार्टीका हरेक व्यक्तिको मनमा मुलुक निर्माणको सोच हुनु प¥यो, त्यो सोचलाई पुरा गर्नका लागि कटिवद्ध भएर लाग्नुको विकल्प नभएको उहाँको भनाइ थियो । हारको मानसिकता लिएर सफल भइदैन भन्दै पोखरेलले असफलतालाई सफलतामा बदल्न जिम्मेवार भएर अगाडि बढ्न आव्हान गर्नु भयो ।

समाजवाद उन्मुख अर्थतन्त्रको विकासका लागि नेपालको संविधानले तीन खम्बे अर्थनीति अंगिकार गरेको चर्चा गर्दै महासचिव पोखरेलले पूँजिवादीहरुले सहकारी क्षेत्रलाई प्राथमिकता नदिएको आरोप लगाउनुभयो । सहकारी मुलुकको आर्थिक विकासको महत्वपूर्ण माध्यम हो, यसको प्रभावकारी परिचालनबाट गरिवी निवारणमा योगदान गर्न सकिने उहाँको भनाइ थियो ।

सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि राज्यका निकायसंगै सहकारी अभियानका संघ तथा महासंघहरुको सक्रियता बढ्नु पर्नेमा जोड दिदै उहाँले कृषि क्षेत्रलाई रुपान्तरण गरी गरिवी निवारणको महत्वपूर्ण पाटोका रुपमा कृषिलाई स्थापित गर्न, उत्पादन बढाउन, बजारीकरणलाई प्रभावकारी बनाउन र वचत परिचालनमा सहकारीको भूमिका बढाउनु पर्छ, किसान सबैभन्दा बढी मर्काका परेको विचौलियाका कारण हो, विचौलियाको अन्त्य गर्न सहकारीले कसरी भूमिका निर्वाह गर्न सक्छ ? यो विषयमा सहकारीकर्मीहरुको ध्यान पुग्नु पर्ने उहाँको सुझाव छ । कतिपय सहकारीहरु यूनिभर्सल सिद्धान्त भन्दा फरक ढंगले चलेका पनि पाइन्छ, त्यसरी चलेका सहकारीहरुका कारण सिंगो अभियानमा पर्न सक्ने नकरात्मक सन्देशका बारेमा अभियान चनाखो हुनु पर्दछ, महासचिव पोखरेलले भन्नुभयो ।

एमालेका नेता कार्यकर्ता सम्वद्ध सहकारी प्रभावकारी रुपमा सञ्चालन हुनुपर्छ, एमालेका कार्यकर्ताले सञ्चालन गरेका सहकारीहरुको अरुले अनुशरण गर्ने गरी सञ्चालन गर्न उहाँले सुझाव दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *