नगरका सबै वडामा एकैसाथ बाल भेला तथा सञ्जाल गठन


आदर्श अनलाइन, बागलुङ
बागलुङ नगरपालिकाले नगरलाई बालमैत्री नगरपालिका घोषणा गर्ने अभियान अन्र्तगत बुधबार बागलुङ नगरपालिकाका १४ वटै वडामा बाल भेला तथा बाल सञ्जाल गठन गरिएको छ ।
बालभेला तथा बाल सञ्जाल गठन कार्यक्रमको बागलुङ नगरपालिकाबाट नगर प्रमुख बसन्त कुमार श्रेष्ठले उद्घाटन गर्नुभएको थियो भने नगरका १०१ विद्यालय तथा सबै वडा अध्यक्षहरु भर्चुअल माध्यमबाट कार्यक्रममा सहभागी हुनुभएको थियो ।

बालभेला तथा सञ्जाल गठनको उद्घाटन गर्दैै बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले नगरले लिएको पहिलो निर्णय नगरलाई बालमैत्री नगरपालिका घोषणा गर्ने विभिन्न सूचक अनुसार १४ वटै वडामा एकैसाथ बाल भेला तथा बाल सञ्जाल गठन गर्न लागिएको बताउनुभयो । उहाँले बालमैत्री नगरपालिका घोषणाका लागि ५१ सूचक मध्ये १२ सूचक विद्यालयमा भएको बताउनुभयो ।

कार्यक्रममा भर्चअल माध्यमबाट विद्यालय तथा वडा कार्यालयहरुले बालभेला गरेका थिए । त्यस लगत्तै वडा कार्यालयको समन्वय तथा वडा भित्रका विभिन्न विद्यालयको छलफलबाट वडा स्तरीय बाल सञ्जाल गठन गर्न नगरप्रमुखले निर्देशन गर्नुभएको थियो । आगमी असार ३ गते नगरस्तरीय बाल सञ्जाल गठन गर्ने नगरपालिकाको तयारी रहेको छ । कार्यक्रममा जिल्ला स्वस्थ्य कार्यालयका प्रमुख सुरज गुरौं, शिक्षा विकास तथा समन्वय इकाईका इकाई प्रमुख कुश्मराज उपाध्याय, सामाजिक विकास कार्यालयका प्रमुख डम्मर बहादुर जिसी, सामाजिक विकास समितिका संयोजक तथा बानपा–११ का वडा अध्यक्ष ज्ञानेन्द्र गौतम लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाको अध्यक्षता, नगर शिक्षा अधिकारी धन प्रसाद पोखरेलको स्वागत तथा सामाजिक विकास शाखा प्रमुख सरस्वती रेग्मीको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *