गलकोटको मल्ममा गाउँघर क्लिनिक सञ्चालन

आदर्श अनलाइन, बागलुङ
सर्वसाधारणलाई घरदैलोमै स्वास्थ्य सेवा दिन गलकोट नगरपालिका–७ मल्मको झिर्कामा गाउँघर क्लिनिक सञ्चालनमा ल्याइएको छ ।

क्लिनिकको बुधबार वडाध्यक्ष राजबहादुर थापाले शुभारम्भ गर्नुभयो । मल्म स्वास्थ्यचौकी अन्तर्गत सञ्चालित उक्त क्लिनिकबाट परिवार नियोजन, सुरक्षित मातृत्व, पोषण अनुगमनलगायत प्राथमिक उपचार र परामर्श सेवा प्रदान गरिने स्वास्थ्यचौकी इञ्चार्ज अनिता काकीले जानकारी दिनुभयो ।

क्लिनिकबाट हरेक महिनाको २५ गते स्वास्थ्य जाँच तथा उपचार सेवा प्रदान हुने उहाँको भनाइ छ । प्राथमिक उपचार सेवा भने नियमित सञ्चालन हुने जनाइएको छ । क्लिनिकलाई व्यवस्थित र प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि सात सदस्यीय क्लिनिक सहयोग समितिसमेत गठन गरिएको छ ।

समितिको अध्यक्षमा मीना दर्जी, उपाध्यक्षमा केशव थापा, सदस्यमा वडासदस्य यानु विक, वडा नं. १० का वडासदस्य हरि काउचा, स्वयंसेविका धना खड्का, अमरबहादुर विक र सदस्य सचिवमा स्वास्थ्यचौकी इञ्चार्ज अनिता कार्की रहनुभएको छ ।

यस्तै संरक्षकमा वडाध्यक्ष राजबहादुर थापा रहनुभएको छ । वडाध्यक्षमा थापा निर्वाचित भएपछि बसेको स्वास्थ्यचौकी व्यवस्थापन समितिको पहिलो बैठकले गाउँघर क्लिनिक खोल्ने निर्णय गरेको थियो ।

स्वास्थ्य सेवाको सहज पहुँचबाट बञ्चित झिर्का, टोकरी र छिमेकी वडा पाण्डवखानी, सिद्धथानका बासिन्तालाईसमेत लक्ष्य गरी क्लिनिक सञ्चालनमा ल्याइएको हो । सेवा शुभारम्भ गर्दै वडाध्यक्ष थापाले क्लिनिकलाई छिट्टै सामुदायिक स्वास्थ्य एकाइमा स्तरवृद्धि गर्न पहल गरिने बताउनुभयो । “स्वास्थ्यचौकी पायकमा नपर्दा टाढाको भूगोलका जनतालाई स्वास्थ्य सेवा पाउनै कठिन छ”, उहाँले भन्नुभयो, “सामुदायिक स्वास्थ्य एकाइ बनेमा स्वास्थ्यचौकी सरहकै सेवा दिन सकिन्छ ।”

गाउँघर क्लिनिक सेवाको शुभारम्भ कार्यक्रममा स्वास्थ्यचौकी इञ्चार्ज अनिता कार्की, स्वयंसेविका धना खड्का, आमा समूहका अध्यक्ष मनु कार्की, वडासदस्य यानु विक, वडासदस्य ज्ञानबहादुर कार्की, गहुँली टोल विकास संस्थाका अध्यक्ष चन्द्रबहादुर थापा, नेटा प्रावि शिक्षक अभिभावक संघका अध्यक्ष हेमु घर्ती, स्थानीयवासी हुमबहादुर कार्कीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

वडाध्यक्ष एवं स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष राजबहादुर थापाको अध्यक्षता, निवर्तमान वडासदस्य मीना दर्जीको स्वागत मन्तव्य र अनमी ममता थापा मगरको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *