म्याग्दीमा सहकारीमा योजना तथा बजेट निर्माण तालिम

आदर्श अनलाइन, म्याग्दी
राष्ट्रिय सहकारी बैक लिमिटेड बागलुङ शाखा र कोअपरेटिभ म्यानेजर्स क्लव म्याग्दीको संयुक्त आयोजनामा सहकारी संघ संस्थाहरुका लागि २ दिने वार्षिक योजना तथा बजेट निर्माण तालिम बिहीवारदेखि बेनीमा शुरु भएको छ ।

तालिमको उद्घाटन बेनी नगरपालिकाका प्रमुख सुरत केसी र उपप्रमुख ज्योती लामिछानेले संयुक्त रुपमा गर्नु भएको थियो । सो अवसरमा बोल्दै नगर प्रमुख केसीले जनतालाई आर्थिक रुपमा सक्षम बनाउन क्षमता अद्धिवृद्धि गर्न र रकमको अभावमा व्यवसाय गर्न नपाएकाहरुलाई व्यवसायिक बनाउन सहकारी बैंक लगायत सहकारीहरुसंग समन्वय गरेर काम गर्ने बताउनु भएको छ ।

पूँजिको अभावमा व्यवसायिक बन्न नपाएका नागरिकहरुलाई सीप र पूँजि उपलब्ध गराउन सकियो भने समृद्धिको अभियान शुरु हुन्छ, नगरप्रमुख केसीले भन्नुभयो, त्यसका लागि बैंक तथा वित्तीय संस्थाहरुले नगरपालिकाको जमानतमा लगानी गर्ने वातावरण बनाउन आवश्यक छ ।

कार्यक्रममा नगर उपप्रमुख लामिछानेले सहकारी अभियानलाई प्रभावकारी रुपमा अगाडि बढाउनका लागि राष्ट्रिय सहकारी बैंकको भूमिका निरन्तर रुपमा प्रभावकारी रहदै आएको बताउनुभयो । जिल्ला सहकारी संघ म्याग्दीका सचिव समेत रहेकी उपप्रमुख लामिछानेले नगरपालिका र सहकारी बैंक तथा जिल्ला सहकारी संघ र विषयगत सहकारी संघहरुबीच सहकार्य गरेर अगाडि बढ्न आवश्यक रहेको बताउनभयो ।

कार्यक्रममा नवनिर्वाचित बेनी नगरपालिकाका प्रमुख सुरत केसी र उपप्रमुख ज्योती लामिछानेलाई राष्ट्रिय सहकारी बैंकका तर्फबाट सम्मान गरिएको थियो । बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीले प्रमुख र उपप्रमुखलाई सम्मान गर्नु भएको थियो ।

बैंकका सञ्चालक जिसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा तालिमको बारेमा सहजकर्ता बैकको तालिम विभागका अधिकृत बल्लभ तिमिल्सिनाले जानकारी गराउनु भएको थियो ।

कार्यक्रमको सञ्चालन बैकको बागलुङ शाखाका प्रमुख युवराज त्रिपाठी र स्वागत कोअपरेटिभ म्यानेजर्स क्लव म्याग्दीका सचिव नेत्रराज सुवेदीले गर्नु भएको थियो । तालिममा म्याग्दी र पर्वतको जलजला गाउँपालिकाका विभिन्न सहकारी संघ संस्थाका ३० जनाको सहभागिता रहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *