पत्रकार महासंघ बागलुङलाई ‘सुगङ्गा पुरस्कार’, केशरीलाई ‘सुगङ्गा सम्मान’

आदर्श अनलाइन, बागलुङ
सुगङ्गा स्मृति कोषले विसं २०७८ को ‘सुगङ्गा पुरस्कार’ र ‘सुगङ्गा सम्मान’ घोषणा गरेको छ । कोषको बैठकले संस्थागततर्फ नेपाल पत्रकार महासङ्घ बागलुङ शाखालाई पुरस्कार र यहाँका अग्रज पत्रकार स्वामी रमेशानन्द केशरीलाई सम्मान प्रदान गर्ने निर्णय गरेको हो । दुवैको राशि रु २५ हजार रहेको छ ।

यही असार अन्तिम साता सदरमुकाममा आयोजना हुने विशेष समारोहमा सम्मान र पुरस्कार समर्पण गरिने कोषले जनाएको छ । पत्रकारिताको संस्थागत विकासमा खेलेको भूमिकालाई हेरेर महासङ्घ बागलुङ शाखालाई पुरस्कृत गर्ने निर्णय गरिएको कोषका अध्यक्ष काजी रोशनले बताउनुभयो ।

यस्तै पत्रकारितामार्फत समाजमा पु¥याएको योगदानका लागि अग्रज पत्रकार केशरी सम्मानित हुन लाग्नुभएको हो । विसं १९९३ मा बागलुङ नगरपालिका–१ रामरेखामा जन्मनुभएका केशरीले ३० को दशकमा राष्ट्रिय समाचार समिति (रासस)को बागलुङ समाचारदाताका रूपमा रहेर काम गर्नुभएको थियो । उहाँ बागलुङका पुराना पत्रकारमध्येमा पर्नुहुन्छ ।

पत्रकार महासङ्घको तत्कालीन धवलागिरि शाखाका संयोजक एवं अग्रज पत्रकार विदुर खड्काले आफ्ना दिवङ्गत आमा सुमित्रा र धर्मपत्नी गङ्गाको स्मृतिमा विसं २०६५ मा सुगङ्गा स्मृति कोष स्थापना गर्नुभएको थियो । कोषका संस्थापक खड्काको पनि गत माघमा निधन भइसकेको छ ।

कोषले पत्रकारितासहित समाजका विशिष्ट क्षेत्रमा योगदान पु¥याउने व्यक्ति र संस्थालाई पुरस्कार तथा सम्मान प्रदान गर्दै आएको छ । यसअघि पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ, राष्ट्रिय समाचार समिति (रासस)का प्रधानसम्पादक एकराज पाठकलगायत कोषबाट सम्मानित भइसक्नुभएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *