बागलुङका सहकारीकर्मीलाई व्यवस्थापन तालिम

रोहन जि.सी., बागलुङ
सहकारी रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखराको आयोजना तथा जिल्ला सहकारी संघ लिमिटेड बागलुङको संयोजनमा ६ दिने सहकारी व्यवस्थापन तालिम बिहीवारदेखि बागलुङमा शुरु भएको छ ।

तालिमको उद्घाटन राष्ट्रिय सहकारी महासंघका सञ्चालक एवम् जिल्ला सहकारी संघ लिमिटेड बागलुङका अध्यक्ष हुमा कुमारी जिसी (अञ्जु) ले गर्नु भएको थियो । सो अवसरमा बोल्दै प्रमुख अतिथि जिसीले सहकारी क्षेत्रलाई थप प्रभावकारी र सहज रुपमा सञ्चालनका लागि सहकारी व्यवस्थापन तालिम सहयोगी हुने धारणा व्यक्त गर्नु भयो । सहकारीमा देखिएका चुनौतीको सामना गर्दै देखिएका अवसरहरुको सदुपयोग गर्न सहकारीकर्मीहरुलाई उहाँले आव्हान गर्नु भयो ।

कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीले सहकारीलाई व्यावसायिक रुपमा सफल बनाउनका लागि व्यवस्थापनमा प्रभावकारिता आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रमका अध्यक्ष सहकारी रजिष्ट्रारको कार्यालय पोखराका रजिष्ट्रार उदय बहादुर पराजुलीले सहकारी आर्थिक विकासको महत्वपूर्ण पाटो भएकाले यसको प्रभावकारीताका लागि व्यवस्थापनमा ध्यान दिनु पर्नेमा जोड दिनुभयो ।

व्यवस्थापनको पाटो सहकारीको सबैभन्दा महत्वपूर्ण विषय भएकाले सहकारी क्षेत्रमा लाग्ने सबैले सहकारीको सही व्यवस्थापनमा ध्यान दिनु पर्ने भन्दै उहाँले तालिममार्फत सहकारीकर्मीहरुलाई व्यवस्थापनको प्रभावकारितामा सहयोग पुग्ने बताउनुभयो ।

तालिममा सहकारी व्यवस्थापन, सहकारीको व्यवस्थापनमा सञ्चालक, कर्मचारी र सदस्यहरुको भूमिका, सहकारीमा नेतृत्व विकास, सहकारीमा सुशासन, सहकारीको संरचनागत अवस्था लगायतका विषयमा सहजीकरण गरिने आयोजकले जनाएका छन् ।

तालिम उद्घाटन कार्यक्रमको सञ्चालन सहकारी रजिष्ट्रारको कार्यालय पोखराका अधिकृत सूर्यप्रसाद आचार्य र स्वागत अधिकृत महेश पौडेलले गर्नु भएको थियो ।
तालिममा बागलुङका विभिन्न सहकारी संघ संस्थाका २५ जना सहकारीकर्मीको सहभागिता रहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *