आदर्श अनलाइन, बागलुङ
नेकपा माओवादी समर्थित एकीकृत अखिल नेपाल शिक्षक संगठनका गण्डकी प्रदेश कमिटि सदस्य तथा बागलुङ जिल्ला उपाध्यक्ष सूर्य बहादुर महतले नेकपा माओवादीले बाटो विराएकाले पार्टी परित्याग गरी एमाले प्रवेश गरेको बताउनु भएको छ ।
नेकपा एमाले बागलुङको शनिवार आयोजित तेस्रो पूर्ण वैठकमा एमाले प्रवेश गर्दै महतले राष्ट्रियता, जनजिविका लगायत विपन्न वर्गका जनताको उन्नती प्रगतिका विषयमा माओवादी केन्द्र चुकेको आरोप लगाउनुभयो ।
यो मुलुकको राष्ट्रियताको संरक्षण गर्ने, मुलुकको आर्थिक विकासको सपना देख्ने, योजना बनाउने र कार्यान्वयन गर्ने पार्टी नेकपा एमाले मात्रै रहेको निष्कर्षका साथ आफु एमाले प्रवेश गरेको महतको भनाइ थियो ।
माओवादी छोडेर एमाले प्रवेश गरेका महतलाई एमाले केन्द्रीय सचिव तथा गण्डकी प्रदेश इन्चार्ज पद्मा अर्याल, पार्टीका पोलिटव्यूरो सदस्य तथा खेलकूद विभाग प्रमुख लिला बहादुर थापा, पोलिटव्यूरो सदस्य तथा गण्डकी प्रदेश सहइन्चार्ज मन कुमारी जिसी केसी लगायतले स्वागत गर्नुभएको थियो ।