नेपाली सहकारीकर्मी मल्ल भारतीय सहकारी महासंघद्वारा सम्मानित

आदर्श अनलाइन, बागलुङ
नेपालको सहकारी अभियानको शिर्षस्थ निकाय राष्ट्रिय सहकारी महासंघ नेपालका वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्ललाई भारतीय राष्ट्रिय सहकारी महासघले सम्मान गरेको छ । नेपालको सहकारी अभियानमा उत्कृष्ट योगदान गरेको भन्दै भारतीय राष्ट्रिय सहकारी महासंघले मल्ललाई सोमबार सम्मान गरेको हो ।

१०० औ अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा भारतीय सहकारी मन्त्रालय र भारतीय राष्ट्रिय सहकारी महासंघले संयुक्त रुपमा आयोजना गरेको विशेष समारोहमा राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्ललाई सम्मान गरिएको भारतीय राष्ट्रिय सहकारी महासंघले जनाएको छ ।

नयाँ दिल्ली स्थित विज्ञान भवनमा आयोजित अन्तर्राष्ट्रिय सहकारी दिवस मुख्य समारोहमा भारतका गृह तथा सहकारी मन्त्री अमित शाह, भारतीय राष्ट्रिय सहकारी महासंघका अध्यक्ष दिलिप सिंघानी लगायतले मल्ललाई सम्मान गर्नु भएको थियो ।

नेपालको सहकारी अभियान र विशेष गरी महिलालाई सहकारी क्षेत्रमा अगाडि बढाउन मल्लको योगदान महत्वपूर्ण रहेकोले सम्मान गरिएको भारतीय राष्ट्रिय सहकारी महासंघका मुख्य कार्यकारी सुधिर महाजनले जानकारी दिनुभयो ।

भारतीय राष्ट्रिय सहकारी महासंघले सञ्चालन गरेको नेशनल सेन्टर फर कोअपरेटिभ एजुकेशनमार्फत सन २००५ मा सहकारीता र प्रवन्धनमा डिप्लोमा गरेकी मल्लले त्यस यता निरन्तर रुपमा सहकारी क्षेत्रमा सक्रिय भएर योगदान गरेको महाजनले बताउनुभयो ।

२ दशकदेखि राष्ट्रिय सहकारी महासंघको नेतृत्वमा रहेर सञ्चालक सदस्य, उपाध्यक्ष हुदै हाल वरिष्ठ उपाध्यक्ष रहनु भएकी मल्ल अन्तर्राष्ट्रिय सहकारी महासंघको निवर्तमान बोर्ड सदस्य समेत रहनु भएको छ ।

नेपालको तर्फबाट अन्तर्राष्ट्रिय सहकारी महासंघको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने मल्ल पहिलो सहकारीकर्मी हुनुहुन्छ ।

संविधानसभा सदस्य समेत रहेकी मल्लले सहकारी ऐन २०७४ जारी गर्न समेत महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको थियो । सहकारी क्षेत्रको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा जिम्मेवारीमा रहेर योगदान गर्ने मल्ललाई भारतीय सहकारी महासंघले सम्मान गर्नु नेपालका लागि गौरवको विषय हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *