मुख्यमन्त्रीको राजीनामा माग्दै गण्डकी प्रदेशसभा अगाडि विराेध प्रदर्शन

आदर्श अनलाइन, पाेखरा
नेकपा एमालेको युवा संगठन र विद्यार्थी संगठनले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलको राजीनामा माग्दै प्रदेशसभाको गेट अगाडि विरोध प्रदर्शन गरेका छन् ।

संसद बैठक सुरु हुनु अघि युवा र विद्यार्थीहरु भेला भएर धर्ना दिँदै नाराबाजी गरेका हुन् । राष्ट्रिय युवा संघ गण्डकी र अनेरास्ववियु गण्डकी मुख्यमन्त्री, मन्त्री, सत्तारुढ दलका नेताहरुले आफन्तहरुको स्मृति कोष, फाउन्डेसनहरुमा विनियोजन गरेको करोडौं रकम फिर्ताको माग गर्दै आन्दोलनमा उत्रेका हुन् ।

अहिले प्रदेशसभा बैठकमा मुख्यमन्त्री पोखरेलले बजेटबारे उठेका विषयमा संसदमा जवाफ दिने कार्यक्रम छ । प्रदेशसभाको बैठक ११ बजे बोलाइएकोमा बिहानै १० बजेदेखि प्रदेशसभा घेराउ कार्यक्रम राखेको थियो । तर, प्रदर्शनले प्रदेशसभा बैठकको समय पछाडि धकेलियो ।

प्रदेशसभा सदस्यहरु गेटबाटै हिँडेर सभा भवन छिरेका थिए । प्रदर्शन जारी रहुन्जेल मुख्यमन्त्री, मन्त्रीहरु प्रदेशसभा पुगेनन् । आन्दोलित युवा, विद्यार्थीहरु उठेपछि मात्र उनीहरु प्रदेशसभा भवन पुगेका छन् ।

युवा संघ गण्डकीका अध्यक्ष महेन्द्र गुरुङले जनताको ढुकुटीको ब्रह्मलुट मच्चाउने काँग्रेस नेतृत्वको गठबन्धन सरकार यही तरिकाले अघि बढे युवासंघले नछाड्ने बताए । अनेरास्ववियु गण्डकीका संयोजक प्रकाश पौडेलले संसदिय छानबिन समिति बनाएर बुवा, आमा, श्रीमान्, जेठाजुका नाममा छुट्याइएको रकम फिर्ता गराउनुपर्ने बताए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *