समाजवादी केन्द्र जनता अल्मलाउने अस्त्र हो : अष्टलक्ष्मी शाक्य


आदर्श अनलाइन, पोखरा

नेकपा एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पछिल्लो समय चर्चामा आएको समाजवादी केन्द्र निर्माण गर्ने विषयलाई समाजवादका पक्षमा रहेका जनतालाई अल्मलाउने अस्त्रका रुपमा व्याख्या गर्नु भएको छ ।

नेकपा एमाले गण्डकी प्रदेश कमिटिले आइतवार आयोजना गरेको प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै शाक्यले छदा खादाको कम्युनिष्ट पार्टी टुक्र्याउनेहरुले समाजवादी केन्द्रको राग अलाप्न थालेको आरोप लगाउनुभयो ।

आफ्नो पार्टी फोड्ने, बहुमतको सरकार हटाउने, कम्युनिष्ट एकतालाई विघण्डन गर्नेहरुले समाजवादी केन्द्रको नाममा कम्युनिष्टहरुलाई अलमलाउने काम गरेका छन्, एमाले उपाध्यक्ष शाक्यले भन्नुभयो–कांग्रेसको केन्द्रीय कमिटिले आफ्नो नेतृत्वमा आगामी सरकार ५ वर्षका लागि सञ्चालन गर्ने निर्णय गरेसंगै समाजवादी केन्द्रको चर्चा हुनु थालेको हो । दर्जन पटक पार्टी फुटका लागि वातावरण तयार गर्ने, फुटाउने कामको नेतृत्वव गर्ने प्रचण्डबाट समाजवादी केन्द्रको संयोजन संभव छैन । माधव नेपाल, बामदेव गौतमका त कुरा नगरौ, उहाँहरु यो हैसियत राख्नु हुन्छ, स्वयं प्रचण्डले समेत समाजवादी केन्द्रको नेतृत्व गर्न नसक्ने उहाको भनाइ थियो ।

पूँजिवादका पक्षधरलाई सरकारको नेतृत्व दिएर समाजवादको कुरा गर्नु आफैमा नमिल्ने विषय हो, प्रचण्ड, माधव र बामदेवहरुबाट अव परिवर्तनको नेतृत्व संभव नभएको शाक्यको भनाइ छ ।

यो मुलुकको स्थिर र परिवर्तनको संवाहक शक्ति एमाले भएको दावी गर्दै शाक्यले समृद्ध समाज निर्माणका लागि जनताका समस्यासंग एकाकार भएर काम गर्न एमालेका नेता कार्यकर्ताहरुलाई आव्हान गर्नु भयो ।



कार्यक्रममा एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङले पार्टी र जनप्रतिनिधिहरुबीचको सम्बन्ध र समाजवाद निर्माणको आधार निर्माण विषयमा सहजीकरण गर्दै समाजवाद निर्माणको आधारका रुपमा रहेको स्थानीय तहको समुन्नत विकासमा ध्यान दिनु पर्नेमा जोड दिनुभयो । समाजवाद निर्माणका लागि आवश्यक पूर्वाधारहरुको विकासका लागि सोच, काम गर्ने शैली र व्यवहारमा परिवर्तन गर्नु पर्नेमा जोड दिदै उहाले एमालेका नेताहरुले नेतृत्व गरेका पालिकाहरुको काम अन्य पार्टीकाले नेतृत्व गरेको भन्दा जनताले महसुस गर्ने गरी फरक हुनु पर्ने बताउनुभयो ।

एमाले सचिव तथा गण्डकी प्रदेश इन्चार्ज पद्मा अर्यालले स्थानीय तह निर्वाचनको शिक्षा र आगामी निर्वाचनको तयारी विषयमा सहजीकरण गर्नु भयो । सो अवसरमा अर्यालले प्रतिरक्षात्मक मनोविज्ञानलाई परिवर्तन गरी उत्साहका साथ पार्टी निर्माणको अभियानमा जुट्न नेता कार्यकर्तालाई आव्हान गर्नु भयो ।

पार्टीका स्थायी कमिटि सदस्य खगराज अधिकारीले दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकताका विषयमा प्रशिक्षण दिदै पार्टीका नेता कार्यकर्तामा देखिने अवसरवाद र अराजकताको अन्त्य नगर्दासम्म कम्युनिष्ट पार्टीले आफ्नो लक्ष्य अनुसारको काम गर्न नसक्ने बताउनुभयो ।
एमाले अनुशासन आयोगका सचिव भरत पहारीले अनुशासित कार्यकर्ता निर्माण सम्बन्धमा प्रशिक्षण दिनु भएको थियो ।

प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा गण्डकी प्रदेश कमिटि र प्रदेश विभागका सदस्यहरु, गण्डकी प्रदेश स्तरीय जनसंगठनका सदस्यहरु, गण्डकी प्रदेशका सबै जिल्लाका जिल्ला कमिटि सदस्यहरु, गण्डकी प्रदेशबाट प्रतिनिधित्व गर्ने जनसंगठनका केन्द्रीय सदस्यहरु, स्थानीय पालिका र जिल्ला समन्वय समितिका जनप्रतिनिधिहरु सहित १ हजार ५ सय जनाको सहभागिता रहेको प्रदेश कमिटि अध्यक्ष नवराज शर्माले जानकारी दिनुभयो ।

एमाले केन्द्रीय सचिवालयले सात वटै प्रदेशमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्नका लागि पार्टीका उपाध्यक्षहरुलाई संयोजनको जिम्मेवारी तोेकेको थियो । गण्डकी प्रदेशमा पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई पार्टीले खटाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *