ऐतिहाँसिक नाँच्नेडाँडामा तीज मेला हुने

थम्मन थापा, गलकोट

गलकोटकै ऐतिहाँसिक स्थल नाच्ने डाँडामा तीज मेला हुने भएको छ । नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा नाच्नेडाँडा संरक्षण समाज गलकोट नगरपालिका ७ मल्मले तीज मेला आयोजना गरेको समाजका अध्यक्ष सबिता मरासिनीले जानकारी दिनुभयो ।

आगामी भदौ १३ र १४ गते तीज मेला आयोजना गरिने अध्यक्ष मरासिनीले बताउनु भयो । मेलामा खुल्ला तीज गीत तथा नृत्य प्रतियोगिता सँगै सामुहिक दर खाने कार्यक्रम, नव निर्मित पक्की मञ्चको समुद्घाटन, महिलाको घैटो फोड प्रतियोगिता सञ्चालन गरिने छ । मेलामा राष्ट्रिय स्तरका कलाकारको समेत सांगितिक प्रस्तुती रहने बताईएको छ ।

ऐतिहाँसिक स्थल नाच्नेडाँडामा परापूर्वकाल देखि नै प्रत्येक वर्ष तीज मेलाको सञ्चालन हुदै आईरहेको छ । लोपोन्मुख कला संस्कृतिको संरक्षण सम्र्बद्धन गर्ने उद्देश्यका साथ स्थापना भएको समाजले मल्मको ऐतिहाँसिक नाच्ने डाँडाको संरक्षण सम्वर्दन गर्दै परम्परागत तीज कार्यक्रमलाई जीवन्त राख्न प्रत्येक वर्ष तीज मेला गर्दै आईरहेको संस्थाका पुर्व अध्यक्ष कोपिला खडकाले जानकारी दिनुभयो ।

समाजले तीज मेलामा ज्येष्ठ महिला, सकृय महिला समाजसेवी, आगन्तुक चेली अभिनन्दन गर्दै आएको छ । मेलाले परम्परागत तीज भाकाहरुको संरक्षण गर्दै नयाकक पुस्तालाई परम्परागत कला संस्कृति प्रति आकर्षण गर्न महत्वपुर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ ।

नाच्नेडाँडामा झण्डै २ सय वर्ष पुरानो ईतिहाँस बोकेको धार्मिक स्थल सिद्वेशवर मन्दिर समेत रहेको छ । मन्दिर परिसरमा सर्वसिद्वी १ सय ८ शिवलिङ्ग मण्डप समेत निर्माण गरिएको छ । अहिले मण्डपमा १ सय ४२ वटा मुर्ति स्थापना गरिएको छ ।

धर्मावलम्बी र सहयोगदाताको सहयोगमा झण्डै ४० लाखको लागतमा उक्त मण्डप निर्माण गरिएको सिद्वेश्वर शिवालय सेवा समितिका अध्यक्ष ज्ञान बहादुर थापाले जानकारी दिनुभयो । तीज मेलामा सिद्वेश्वर शिवालय मन्दिरमा ब्रतालु दिदीबहिनीहरुको लागि पूजाआजाको समेत प्रवन्ध मिलाईएको समितीले जनाएको छ ।

यो पनि पढ्नुहोस्