लोकमार्गकै हालतमा ताराखोला जोड्ने सहिदमार्ग


–राम थापा, बागलुङ

यसपालिको वर्षात्मा पनि सहिदमार्गको नियति फेरिन सकेन । ठाउँपिच्छे गएका पहिराले ताराखोला गाउँपालिकाको केन्द्र जोड्ने उक्त सडक हप्तौँदेखि बन्द छ । यात्रुहरू फेरो बाटो समातेर आउजाउ गर्न बाध्य छन् ।

मार्ग खुलेको वर्षौँ बित्दासमेत सडक कालोपत्र हुनसकेको छैन । सालिन्दा वर्षात्का बेला सहिदमार्ग बन्द हुन्छ । ताराखोला गाउँपालिका–१ का यातायात व्यवसायी भीम गुरुङले हिउँदमा जेनचेत सवारीसाधन चलेपनि वर्षात्मा सहिदमार्ग बन्द हुने गरेको बताउनुभयो ।


“सहिदमार्ग बेवास्तामा परिरहेको छ, गाउँपालिकाले पनि खासै ध्यान दिएको छैन” उहाँले भन्नुभयो, “कालोपत्र गर्ने कुरा पनि सेलायो, सडक झन् बिगँ्रदै गएको छ ।” उक्त सडकले काठेखोला गाउँपालिका–५ रिजालचोकबाट अमरभूमि हुँदै गाउँपालिकाको केन्द्र अर्गल, भातखाने डाँडालाई जोड्छ । सहिदमार्ग बन्द भएपछि अहिले जलजलादेखि माझखर्क, भुस्कात भएर सवारी आउजाउ गरिरहेको यातायात व्यवसायी गुरुङले बताउनुभयो । ताराखोला–२ सिले, अर्गल, भातखाने डाँडालगायतका ठाउँ पुग्न पनि त्यही बाटो हिँड्नुपर्ने स्थिति छ ।

सो मार्गमा पर्ने थवारको घुम्ती, मनझाँक्रीको किल्ला, थारखेतसहित कैयन ठाउँमा ठूला–साना पहिरो गएका छन् । पहिरो पन्छाउने र मर्मतसुधार गरेर सडक सञ्चालन गर्नेतिर गाउँपालिका पनि उदासिन देखिएको छ । ताराखोला–१ का अध्यक्ष यमबहादुर श्रीसले त्रिशूलीचोकबाट ठूलाचौरसम्मको खण्डमा सडक धेरै बिग्रेको बताउनुभयो ।

उहाँले तत्काललाई डोजर लगाएर सडक सञ्चालन गर्ने तयारी भइरहेको बताउनुभयो । सहिदमार्गको स्तरोन्नतिका लागि चालु आवको बजेटमा पनि गाउँपालिकाले रु. २० लाख छुट्याएको छ । बजेटको अख्तियारी आएपछि आउँदो भदौबाट सडक स्तरोन्नति थालिने गाउँपालिकाले जनाएको छ । स्थानीय तहलाई पक्की सडकमार्फत प्रदेश राजधानीसँग जोड्ने सरकारको लक्ष्यअनुरुप उक्त सडक गत वर्ष नै कालोपत्रका लागि छनोटमा परेको थियो । स्थानीय पूर्वाधार आयोजना विकास कार्यालयको आयोजना छनोट समितिले गरेको सो निर्णय कार्यान्वयनमा भने आउन सकेको छैन ।

सरकारको प्राथमिकतामा नपरेका कारण कालोपत्र योजना ओझेलमा परेको गाउँपालिकाको गुनासो छ । आयोजना विकास कार्यालय, गण्डकीले सो योजना सुसुप्त अवस्थामा रहेको जनाएको छ । उसका अनुसार त्यस प्रकृतिका सडक योजनाको कार्यान्वयन संघ कि प्रदेश सरकारले गर्ने भन्नेमा पनि अन्योलता छ ।

अघिल्लो सरकारले अघि बढाएका कतिपय सडकको बजेट नयाँ सरकार आएपछि कटौतीमा परेको थियो । बजेटको सुनिश्चितता भए सडक कालोपत्रको प्रक्रिया अघि बढ्ने आयोजना विकास कार्यालयका पदाधिकारी बताउँछन् । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रकाश गैरेले सहिदमार्ग कालोपत्रका लागि प्रदेश र सङ्घ सरकारसँग पहल गरिने बताउनुभयो । उहाँसमेत सम्मिलित रहेको समितिले २० किमी दूरीको उक्त सडकलाई कालोपत्रका लागि छनोट गरी केन्द्रमा सिफारिस गरेको थियो ।

विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाएर छिट्टै सडक कालोपत्र गरिने खबरले उत्साहित स्थानीयवासी योजना नै अलपत्र पर्दा निराश बनेका छन् । जनयुद्धका बेला तत्कालीन माओवादी कार्यकर्ता र जनसमुदाय मिलेर उक्त सडकको मार्ग खोलेका थिए । पछि गाउँपालिकाले त्यसलाई ‘सहिदमार्ग’ नाउँ दिएको थियो ।

राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी पुष्पलाल लोकमार्गमा पर्ने काठेखोला गाउँपालिकाको रिजालचोकबाट उत्तर–पश्चिम हुँदै सो सडक ताराखोलाको केन्द्र, भातखाने डाँडामा जोडिन्छ । उक्त सडक कालोपत्रका लागि झण्डै रु. ७० करोडको लागत अनुमान गरिएको छ । योजना कार्यान्वयनमा आए सङ्घ सरकारको ७०, प्रदेशको १० र गाउँपालिकाको २० प्रतिशत लागत साझेदारी रहने जनाइएको छ । पक्की सडकसँग जोडिएमा यात्रुको आउजाउ सहज हुनुका साथै ताराखोलाको स्थानीय उत्पादनलाई बजारीकरण गर्न सघाउन पुग्ने देखिन्छ ।

कृषि, पशु र वनजन्य उपजका दृष्टिले ताराखोला धनी छ । स्तरहीन सडकका कारण अहिले ताराखोलाबाट सदरमुकाम आउन घण्टौँको यात्रा तय गर्नुपर्छ । सडक कालोपत्र भएमा भने लोकमार्ग हुँदै प्रदेश राजधानी पोखराको यात्रा सहज र छरितो हुनेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *