सहकारीका समस्या समाधानका लागि एमालेले लियो अग्रसरता


सहकारीलाई सुधार्न राज्यको ध्यान पुगेन : दाहाल
आदर्श अनलाइन, ललितपुर

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष काशीराज दाहालले मुलुकको अर्थतन्त्रको एक आधारस्तम्भ सहकारी क्षेत्रलाई सुधार गर्न राज्यको प्रभावकारी भूमिका आवश्यक रहेको बताउनु भएको छ ।

नेकपा एमाले केन्द्रीय सहकारी तथा गरिवी निवारण विभागले शुक्रवार ललितपुरको च्यासलमा आयोजना गरेको सहकारी क्षेत्रका समसामयिक समस्याहरुका बारेमा छलफल गर्न आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै दाहालले यस्तो बताउनु भएको हो । संविधानमै व्यवस्था भएको तीन खम्बे अर्थनीतिको एक खम्बा सहकारी क्षेत्रलाई प्रभावकारी बनाउनका लागि सरकारका तर्फबाट विशेष पहलकदमी हुनुपर्छ, दाहालले भन्नुभयो–‘नीतिगत व्यवस्था समय सापेक्ष बनाउदै सरकारका तर्फबाट प्रभावकारी नियमन आवश्यक छ ।’

सहकारी क्षेत्रमा समस्या आउनुमा मुख्य तीन विषय रहेको चर्चा गर्दै उहाँले नीति कार्यान्वयनमा समस्या, सहकारीका मूल्य मान्यता तथा सिद्धान्तको पालना ध्यान नपुग्नु र कतिपय सहकारीकर्मीको नियतमा खोट रहेको उहाँको भनाइ थियो ।

कार्यक्रममा एशियाली ऋण महासंघका पूर्व अध्यक्ष ऋषिराज घिमिरेले सहकारी क्षेत्रमा समस्या आउनुमा सरकार र अभियान दुवैको कमजोरी रहेको बताउनुभयो । ऐनको प्रभावकारी कार्यान्वयनमा सरकार चुकेको र सरकारसंगको समन्वय र दवाव दिने कार्यमा अभियान चुकेको छ, घिमिरेले भन्नुभयो–‘सरकार र अभियान दुवै मिलेर राम्रा सहकारीलाई जोगाउने उपायको खोजी गर्नु पर्छ ।’ केही व्यक्तिहरुमा सहकारीमा बसेर व्यक्तिगत व्यवसाय सुधार्ने प्रवृति रहेको र त्यसलाई रोक्न अभियानले ध्यान नदिएको उहाँको आरोप छ, नेतृत्वमा अहमता देखियो, समन्वय भएन, महासंघले अभिभावकत्व लिएर सहकारीका समस्या समाधानमा पहलकदमी लिन घिमिरेले सुझाव दिनुभयो ।



नेकपा एमालेका पोलिटव्यूरो एवम् तथा केन्द्रीय सहकारी तथा गरिवी निवारण विभागका प्रमुख कमल चौलागाईले सहकारीमा विगत देखिनै समस्याहरु देखिदै आएको र सरकारले समस्या समाधानमा ध्यान नदिएको आरोप लगाउनु भयो ।

सरकारले प्रभावकारी नियमन गर्न सकेन, नियमन गरेको पनि प्रभावकारी हुन सकेन, समस्याको पहिचान गरेर समयमै सही सुझाव र खबरदारी गर्ने काममा सरकार चुकेको उहाँको भनाइ थियो । सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि पार्टीका तर्फबाट सक्दो पहलकदमी लिने प्रतिवद्धता व्यक्त गर्दै विभागी प्रमुख चौलागाईले दलहरुका तर्फबाट सहकारीको प्रवद्र्धन, विकास र व्यवस्थापनमा सहयोग र समन्वय आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कंडेल, वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्ल, नेफ्स्कुन अध्यक्ष परितोष पौड्यालले सहकारीमा देखिएका समस्या र समाधानका उपायहरुका बारेमा चर्चा गर्नु भएको थियो ।

कार्यक्रममा सहकारीकर्मीहरु डिबि बस्नेत, हरिहरनाथ योगी, महेन्द्र गिरी, विश्वनाथ मण्डल, इन्दिरा पन्त, उद्धव सापकोटा, विनोद पराजुली, इन्द्र घिमिरे, चित्रराज तिमिल्सिना, गणेशराज तिमिल्सिना, पुरुषोत्तम हुमागाई लगायतले सहकारीको समस्या समाधानमा राज्य र अभियानका तर्फबाट गर्न पर्ने कामका विषयमा सुझाव दिनु भएको थियो ।

एमाले केन्द्रीय सहकारी तथा गरिवी निवारण विभागका प्रमुख कमल चौलागाईको अध्यक्षता र उपप्रमुख निर्मल भट्टराईको सञ्चालनमा सम्पन्न कार्यक्रममा उपप्रमुख अमृता सुब्बाले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *