‘नागरिकतामा कुकुर, कुकुर्नी, फ्याउरो नाम राखिदिनेको हात भाँच्नु पर्छ कि पर्दैन ?’

आदर्श अनलाइन, काठमाडौं
नेकपा माओवादी केन्द्रका सांसद भुवनबहादुर सुनारले दलित समुदायका व्यक्तिहरुको नागरिकतामा अपमानपूर्वक राखिएको नाम सच्याउन माग गरेका छन् ।

सोमबारको राष्ट्रिय सभा बैठकमा विशेष समयमा बोल्दै सांसद सुनारले दलित समुदायका व्यक्तिहरुलाई नागरिकता दिँदा अपमानपूर्वक नाम राखेको पाइएकाले त्यस्ता नाम सच्याउन गृहमन्त्रालयलाई आग्रह गरे ।

दलित समुदायलाई नागरिकता दिने बेलामा कर्मचारीले कुत्ता कामी, फ्याउरो वादी, कुकुर्नी कामी नाम लेखिदिएको उदाहरण दिँदै उनले प्रश्न गरे, ‘दूरदराजका जनतालाई नागरिकता दिँदा त्यस्तो लेख्न मिल्छ ? त्यस्तो कागजमा सही गर्नेको हात भाच्नुपर्छ कि पर्दैन ? अब यसको जिम्मेवार को हो ?’

दलित समुदायका व्यक्तिलाई अपमान गर्नकै लागि त्यतिबेलाका सरकारी कर्मचारीले उनीहरुको नाम त्यस्तो राखिदिएको उनको दाबी छ । ‘नागरिकता लिन जाँदा ति हाकिमहरुले केरकार गर्ने, सोधपुछ गर्ने गर्दछन् । अहिले पनि गर्दछन् । त्यो बेलामा पनि गरे होलान् । किन यस्तो नाम लेखेको किन भनेनन् ?’ उनले प्रश्न गरे ।

सांसद सुनारले यस्तो त्रुटीहरुको खोजी गर्न राष्ट्रिय दलित आयोग र दलित अभियन्ताहरुलाई पनि आग्रह गरे । ‘खोजी गर्नलाई राष्ट्रिय दलित आयोगले अनुगमन गर्नु आवश्यक छ । राष्ट्रिय दलित आयोग तुरुन्त पुग्नुपर्छ । आयोगको अनुगमन र निगरानी पुगिरहेको छैन । दलितका संघ, संगठन र दलित अभियन्ताहरु अभियानको रुपमा ति बस्तीमा पुग्नुपर्छ । त्यस्ता अपराधीहरुलाई खोजीखोजी कारबाही गर्नुपर्छ । राज्य यो विषयमा गम्भिर हुन आवश्यक छ ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *