एसइईमा पालिका टपेकी छात्रालाई वडाले पढाइदिने

आदर्श अनलाइन, पर्वत
हालै सार्वजनिक भएको २०७८ सालको एसइई परीक्षामा पर्वतको पैयुँ गाउँपालिकाभरमा सबैभन्दा जिपिए प्राप्त गरेकी छात्राको आगामी अध्ययनको खर्च वडाले बेहोर्ने भएको छ।

गाउँपालिकाको वडा–१ टकलाकमा रहेको टकलाक माध्यमिक विद्यालयबाट ३.६ जिपिए प्राप्त गरेकी कुसुम विकले कक्षा ११ र १२ मा विज्ञान संकायमा अध्ययन गर्ने तयारी गरिरहेकी कुसुम दलित समुदायबाट रहेको र उनको आर्थिक अवस्था पनि कमजोर रहेका कारण कक्षा ११ र १२ को भर्ना शुल्क, मासिक शुल्क र परीक्षा शुल्क वडाले बेहोर्ने वडाध्यक्ष मीनप्रसाद न्यौपानेले बताएका छन्।
दलित समुदायको विपन्न परिवारमा जन्मिएर पनि गाउँपालिका भरमा सबैभन्दा राम्रो नतिजा ल्याउन सफल हुनु र आर्थिक अवस्थाकै कारण क्षमता भएर पनि अध्ययनमा समस्या भोग्नुपर्ने अवस्था आउन नदिनको लागि वडाले उक्त निर्णय गरेको हो।

‘आर्थिक अवस्था बलिया भएका र अध्ययनको अवसर राम्रो पाएकाहरूले ल्याउनुपर्ने नतिजा कुसुमले ल्याएकी छिन्। विज्ञान संकायबाट अध्ययन गर्ने उनले तयारी गरेकी छिन्। कक्षा ११ र १२ मा उनले अध्ययनका लागि गर्नुपर्ने खर्च वडाले गर्ने छ’, वडाध्यक्ष न्यौपाने भन्छन्, ‘यसले अध्ययनमा मिहिनेत गर्ने अरू विद्यार्थीहरूलाई प्रोत्साहन गर्ने छ। वडा शिक्षा क्षेत्रका लागि अरू काम गरिरहेको छ। तर यो निर्णयले क्षमता भएमा त्यसको कदर र सम्मान हुने कुरा विद्यार्थीमा पुष्टि गर्छ, मिहिनेतका लागि प्रोत्साहन गर्छ।’

वडाअध्यक्ष न्यौपानेका अनुसार कुसुमले जनसेवा माध्यमिक विद्यालय हुवासमा अध्ययन गर्दै छिन्। उनको यो नतिजा सहित जिल्लाभरको अवस्था हेर्दा पनि सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर सुधारिँदै आएको देखिएको उनले बताए।

गुणस्तर कायम गर्न नसकेको गुनासो चलिरहेको बेलामा सामुदायिक विद्यालयहरूले नतिजामा सुधार गर्दै जानुले गुणस्तर कायम हुन थालेको देखिएको न्यौपानेको भनाई छ। वडा कार्यालयले वडाभित्र रहेका समुदाय विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि अभियान थालेको बताउँदै उनले आगामी दिनमा वडाका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर परिवर्तन गरेर देखाउनेमा आफूहरू ढुक्क रहेको उल्लेख गरे। गत स्थानीय तहको निर्वाचनमा निर्वाचित भएदेखि नै न्यौपाने शैक्षिक देखि अन्य पक्षहरूको पनि समानान्तर सुधारको विभिन्न अभियानहरू चलाइरहेका छन्।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *