संगठनका आन्तरिक समस्या पहिचान गर्न एमाले गण्डकीको संगठनात्मक कार्यशाला

आदर्श अनलाइन, बागलुङ
पार्टीको आन्तरिक संगठनमा देखिएका समस्या र सुधारका विषयहरुको पहिचान गरी संगठनलाई थप प्रभावकारी रुपमा परिचालन गर्ने उद्देश्यका साथ नेकपा एमाले गण्डकी प्रदेश कमिटिले २ दिने संगठनात्मक कार्यशाला तनहुँको बन्दीपुरमा आइतवारदेखि शुरु गरेको छ ।

कार्यशालाको उद्घाटन पार्टीका केन्द्रीय उप–महासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वीसुब्वा गुरुङले गर्नु भएको थियो । कार्यशालाको उद्घाटन पछि बोल्दै गुरुङले पार्टीको दशौ राष्ट्रिय महाधिवेशनले मार्गनिर्देशन गरेको कार्यक्रमका आधारमा पार्टीको समग्र संगठनलाई परिचालन गर्न आन्तरिक समस्या र समाधानका उपायहरुको पहिचान गरी अगाडि बढ्नु पर्नेमा जोड दिनुभयो ।

पार्टीको आन्तरिक समस्यालाई समाधान गरी एकतावद्ध र प्रतिवद्ध रुपमा आगामी संघीय र प्रदेश सभा निर्वाचनमा होमिन उहाँले नेता कार्यकर्ताहरुलाई आव्हान समेत गर्नु भयो । एमालेको दशौ राष्ट्रिय महाधिवेशनले दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई परास्त गरौ, जवजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौ भन्ने नाराय तय गरेको थियो ।

पार्टीमा देखिएको दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकताका कारण गत स्थानीय तह निर्वाचनमा पार्टीले सोच जति सफलता प्राप्त गर्न नसकेको एमालेले निष्कर्ष निकालेको छ । पार्टीका नेता कार्यकर्ताहरुनै आफुले टिकट नपाए आफ्नैलाई हराउन लाग्ने, व्यक्ति केन्द्रीत मानसिकता हावी भएको जस्ता कारणहरुले निर्वाचनमा असर गरेको जनाइएको छ ।

कार्यक्रममा पार्टीका सचिव तथा गण्डकी प्रदेशका इन्चार्ज पद्मा अर्यालले गण्डकी प्रदेशको संगठनात्मक अवस्था, समस्या र समाधान तथा पार्टी स्थायी कमिटि सदस्य एवं संगठन विभाग प्रमुख खगराज अधिकारीले पार्टी संगठनका समस्या र समाधानका सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

दुवै कार्यपत्रमाथि छलफलका लागि गण्डकी प्रदेशका ११ जिल्ला र जनसंगठनको १ गरी १२ वटा टोली गठन गरिएको छ । टोलीले संगठनको समग्र अवस्थाका बारेमा छलफल गरी सोमबार निष्कर्ष प्रस्तुत गर्ने कार्यक्रम रहेको एमाले प्रदेश कमिटिका अध्यक्ष नवराज शर्माले जानकारी दिनुभयो ।

समुह छलफलबाट आएका निष्कर्षहरुसंगै पार्टीका नेताहरुले थप सुझाव प्रस्तुत गर्ने कार्यक्रम रहेको पार्टी प्रदेश सचिव धनञ्जय दवाडीले बताउनु भयो । पार्टी उपमहासचिव पृथ्वीसुव्वा गुरुङ, सचिव तथा गण्डकी प्रदेश इन्चार्ज पद्मा अर्याल, स्याथी कमिटि सदस्य तथा संगठन विभाग प्रमुख खगराज अधिकारी, स्थायी कमिटि सदस्य किरण गुरुङ, स्थायी कमिटि सदस्य तथा संगठन विभागका सदस्यहरु कर्ण बहादुर थापा र भानुभक्त ढकाल लगायतले समुह छलफलका निष्कर्षहरुमाथि थप सुझाव दिने दवाडीले जानकारी दिनुभयो ।

नेकपा एमालेले पार्टीको आन्तरिक संगठनमा देखिएका समस्याहरुको पहिचान गरी शसक्त रुपमा संगठन परिचालन गर्ने लक्ष्यका साथ ७ वटै प्रदेशमा संगठनात्मक कार्यशाला सञ्चालन गरेको छ । पार्टीले प्रदेश नं १, बागमती प्रदेश र लुम्बिनी प्रदेशमा यस अघि नै कार्यशाला सम्पन्न गरिसकेको प्रदेश कमिटि अध्यक्ष शर्माले जानकारी दिनुभयो ।

सबै प्रदेशबाट आएका सुझावहरुका आधारमा संगठन विभागले आगामी योजना निर्माण गरी देशव्यापी रुपमा संगठन सुदृढिकरण अभियान सञ्चालन गरिने एमालेले जनाएको छ । गण्डकी प्रदेश कमिटिले आयोजना गरेको प्रदेश स्तरीय संगठनात्मक कार्यशालामा गण्डकी प्रदेशबाट पार्टीका स्थायी कमिटि, केन्द्रीय कमिटिका सदस्यहरु, गण्डकी प्रदेश कमिटिका पदाधिकारी र संगठन विभागका सदस्यहरु, जिल्ला कमिटिका इन्चार्ज तथा सहइन्चार्जहरु, जिल्ला कमिटिका अध्यक्ष, सचिव र संगठन विभागका प्रमुखहरु, जनसंगठका प्रदेश कमिटि अध्यक्षहरु सहित ९० जनाको सहभागिता रहेको छ ।

कार्यक्रम पार्टीका प्रदेश कमिटि अध्यक्ष नवराज शर्माको अध्यक्षता र सचिव धनञ्जय दवाडीको सञ्चालनमा सम्पन्न भएको बन्दीपुरबाट एमाले बागलुङका कार्यालय सचिव अमर बहादुर थापाले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *