२० औं वर्षमा ढोरपाटन

आदर्श अनलाइन, बागलुङ
ढोरपाटन दैनिक पत्रिका २० औं वर्षमा प्रवेश गरेको छ । बागलुङबाट २०६० साल भदौ १ गते प्रकाशन आरम्भ गरेको पत्रिकाले मंगलबार २० औं वार्षिकोत्सव मनाएको हो । पोखरा र बागलुङबाट एक साथ प्रकाशन हुँदै आएको पत्रिकाले बुधबार पोखरामा एक विषेश कार्यक्रमको आयोजना गरि वार्षिकोत्सव मनाएको सम्पादक हरिनारायण गौतमले बताउनुभयो ।

वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापाले संचार क्षेत्रको सहमति बिना गण्डकी सञ्चार विधेयक अघि नबढाइने बताउनुभयो । संसदमा रहेका सबै दलहरुको सहमतिमा नै विधेयक तयार भएको भन्दै उहाँले पत्रकार र सञ्चार क्षेत्रको गुनासो आउने गरि जबर्जस्ती विधेयक अघि नबढ्ने बताउनुभयो ।

साहित्यकार तीर्थ श्रेष्ठले अहिले मानिसहरु आँफैमा सुधार आवश्यक रहेको बताउनुभयो । समाज सुधारका लागि सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका रहने भन्दै श्रेष्ठले समाजको ऐना बन्न सञ्चार क्षेत्रलाई आग्रह गर्नुभयो ।

प्रदेश सभा सदस्य इन्द्रलाल सापकोटाले सरकारलाई सचेत बनाउने काममा सञ्चार क्षेत्र अब्बल रहेको बताउनुभयो । पत्रकार महासंघ गण्डकी प्रदेश अध्यक्ष नारायण शर्माले तीनै तहका सरकारले समानुपातिक विज्ञापन प्रणाली लागू गर्नु पर्ने बताउनुभयो । कार्यक्रममा पत्रकार महासंघ कास्की शाखाका सचिव माधव बरालले बोलेका थिए ।

पत्रिकाले कला, साहित्य, संगीत र सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान गर्नेलाई हरेक वर्ष प्रदान गर्दै आएको ‘ढोरपाटन सम्मान–२०७७’ बाट साहित्यकार तीर्थ श्रेष्ठलाई सम्मान गरेको छ । ढोरपाटन दैनिकका लागि नियमित विज्ञापन उपलव्ध गराउने विज्ञापनदाता रुसन सापकोटालाई सम्मान गरे को छभने सञ्चारगृह भित्रका दुई जना पनि पुरस्कृत भएका छन् ।

पुरस्कृत हुनेमा समाचार लेखनतर्फ संवाददाता विजय नेपाली र बजार व्यवस्थापन तर्फ दिवाकर चापागाईं रहेका छन् । उहाँहरुलाई जनही १५ हजार रुपैयाँ र कदरपत्र प्रदान गरिएको थियो । कार्यक्रममा सम्पादक हरीनारायण गौतमले पत्रिकाको निरन्तरताका लागि सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।

कार्यक्रम सम्पादक गौतमको अध्यक्षता, पोखरा व्यूरो प्रमुख बासुदेव मिश्रको स्वागत र सह–सम्पादक तारानाथ आचार्यको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

ढोरपाटनले वार्षिकोत्सवको अवसरमा ‘काँध थाप्ने पुस्ता’ विषेशांक प्रकाशन गरेको छ । विषेशांकमा गण्डकी प्रदेशमा व्यवसाय र राजनीतिमा हस्ताक्षेपकारी पुस्ताको आगमनको विषयमा सामग्रीहरु समावेश छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *