‘जनताको साथमा कांग्रेस’ अभियानमा कांग्रेस कास्की

आदर्श अनलाइन, पोखरा
नेपाली कांग्रेसले ‘जनताको साथमा कांग्रेस’ अभियान शुक्रबारदेखि सुरु गरेको छ । आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन तयारीका लागि शुक्रबारदेखि मुलुकभर एकसाथ अभियान थालिएको हो ।

नेपाली कांग्रेस कास्कीले पनि अभियान शुक्रबार उद्घाटन गरेको छ । कांग्रेस केन्द्रीय सदस्य तथा कास्की प्रतिनिधि प्रदीप पौडेलले अभियान उद्घाटन गरेका हुन् । निर्वाचनमा प्रभावकारी परिचालन गर्न जनताको तल्लो तहसम्म पुग्ने र जनताको कुरा सुन्ने, विकास निमार्णमा समन्वय गर्ने उद्देश्यका साथ अभियान थालिउको नेपाली कांग्रेस कास्की सचिव भानु ढकालले बताए ।

अभियानमा नेपाली कांग्रेसबाट विजयी जनप्रतिनिधिलाई अझै जिम्मेवार तथा प्रभावकारी ढंगले परिचालन गरिने सचिव ढकालले बताए । भदौ २४ गतेसम्म यो अभियान वडा तहसम्म जाने उनको भनाइ छ । ‘अभियान अन्तर्गत रचनात्मक खालका कार्यक्रमका साथ जनताको माझ जाने, जनतासँग अन्तक्र्रिया गर्ने, जनताका कुरा सुन्ने र विकास, निर्माणका काममा समन्वय गर्ने खालका कार्यक्रम छन्,’ ढकालले भने ।

अभियानमा टोल समितिलाई अग्रसर बनाइने भएको छ । अभियान अन्तर्गत गठबन्धनका दलमा भावनात्मक एकता बढाउनका लागि आन्तरिक भेटघाट, छलफल र चियापान कार्यक्रम पनि आयोजना गरिने सचिव ढकालले जानकारी दिए । आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सहभागी भई आफ्नो अधिकार प्रयोग गर्न मतदातालाई अपिल गर्ने, जनताको भावना अनुरुपको रुपान्तरण र विकास परियोजनाबारे छलफल गरिनेछ ।

तल्लो तहमा जान कांग्रेस कास्कीले ६ वटै क्षेत्रमा प्रतिनिधि खटाएको छ । कास्की क्षेत्र नम्बर १ (क) मा उपसभापति युवराज कुवँर र १ (ख) मा सहसचिव शंकर ढुंगानालाई खटाएको छ । क्षेत्र नम्बर २ (क) मा सचिव देवेन्द्र रानाभाट र (ख) मा सचिव भानु ढकाललाई जिम्मेवारी दिएको छ । क्षेत्र नम्बर ३ (क) मा सहसचिव नवीन सिग्देल र (ख) मा उपसभापति रामबाबु भण्डारीलाई खटाइएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *