बागलुङ प्रदेश १ (क) बाट एमालेका पाँच जना सिफारिस

आदर्श अनलाइन, बागलुङ
आगामी प्रदेशसभा निर्वाचनका लागि नेकपा एमालेका तर्फबाट बागलुङ क्षेत्र नं.१ क बाट ५ जना उमेदवार सिफारिस भएका छन् ।

प्रदेशसभा निर्वाचन समन्वय कमिटिको शनिवार सम्पन्न वैठकबाट प्रदेशसभा सदस्य पदका उमेदवारका लागि जिल्ला पार्टी अध्यक्ष हिरा बहादुर केसी, प्रदेश कमिटि सदस्य एवम् केन्द्रीय सहकारी तथा गरिवी निवारण विभागका सदस्य राम बहादुर जिसी, प्रदेश कमिटि सदस्य हरिनारायण गौतम, जिल्ला उपसचिव गणेश थापा र अखिल नेपाल महिला संघका जिल्ला अध्यक्ष लक्ष्मी बोहरा सिफारिस हुनु भएको हो ।

जिल्ला सचिवालयको वैठकले भदौ १८ गते प्रदेशसभा र १९ गते प्रतिनिधिसभाका लागि उमेदवार सिफारिस गर्ने निर्णय गरेको थियो । सोही अनुसार प्रदेशसभा निर्वाचन परिचालन कमिटिको वैठकले प्रदेशसभाका लागि उमेदवार सिफारिस गरेको प्रदेश सभा निर्वाचन परिचालन कमिटिका संयोजक तथा जिल्ला कार्यालय सचिव अमर बहादुर थापाले जानकारी दिनुभयो ।

उमेदवार सिफारिसका लागि आयोजित वैठकमा बोल्दै नेकपा एमालेका पोलिटव्यूरो सदस्य तथा गण्डकी प्रदेश सहइन्चार्ज मन कुमारी केसी जिसीले राष्ट्रियको संरक्षण जनजिविकाका सवालमा गठबन्धन सरकार असफल भएकाले आगामी निर्वाचनबाट एमालेको नेतृत्वमा सरकार गठन गर्ने गरी आम नेता कार्यकर्ता, समर्थक सुभेच्छुक चुनावी अभियानमा लाग्न आव्हान गर्नु भयो । मुलुक चलाउन सक्ने ल्याकत भएको एउटा पार्टी एमाले र सफल सरकारको नेतृत्व गर्न सक्ने नेता केपी ओली भएकाले एमालेले उहाँलाई प्रधानमन्त्रीका रुपमा प्रस्तुत गरेको चर्चा गर्दै उहाँले आगामी निर्वाचनमा एमालेले हार्नु भनेको जनताले हार्ने भएकाले एमाले पंक्ति भावनात्मक रुपमा एकतावद्ध भएर निर्वाचनमा लाग्नु पर्नेमा जोड दिनुभयो ।

एमाले केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज गोविन्द बहादुर नेपाली, केन्द्रीय सदस्य तथा जिल्ला सहइन्चार्ज इन्द्रलाल सापकोटाले केन्द्रको सर्कुलर र निर्वाचन प्रक्रियाका बारेमा सहजीकरण गर्नु भएको थियो । जिल्ला अध्यक्ष हिरा बहादुर केसीले जिल्ला सचिवालयको निर्देशनका बारेमा सहजीकरण गर्नु भएको थियो । कार्यक्रम प्रदेशसभा निर्वाचन समन्वय कमिटिका संयोजक अमर बहादुर थापाको अध्यक्षता र सदस्य इन्द्र केसीको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *