सामुदायिक साकोस स्याङ्जाले ४ वर्षे रणनीतिक योजना बनाउँदै

आदर्श अनलाइन, पोखरा
स्याङ्जाको विरुवा गाउँपालिका वडा नं. १ मा सञ्चालित सामुदायिक वचत तथा ऋण सहकारी संस्था लिमिटेडले ४ वर्षे रणनीतिक योजना निर्माण गर्ने भएको छ ।

संस्थाको आगामी लक्ष्य निर्धारण गरी सञ्चालक, कर्मचारी र शेयर सदस्यहरुलाइ समेत सक्रिय बनाई सबल र सक्षम संस्था निर्माण गर्ने लक्ष्यका साथ रणनीतिक योजना निर्माण गर्न लागिएको संस्थाले जनाएको छ ।

राष्ट्रिय सहकारी बैंक लिमिटेडको प्राविधिक सहयोगमा पोखरामा आयोजित २ दिने रणनीतिक योजना निर्माण गोष्ठीको राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीले शुभारम्भ गर्नुभएको थियो ।

No description available.

सो अवसरमा बोल्दै जिसीले सहकारीहरुलाई व्यवस्थित र प्रभावकारी रुपमा सञ्चालनका लागि संस्थाको लक्ष्य निर्धारण आवश्यक हुने भएकाले सबै सहकारीहरुले लक्ष्य निर्धारण गरेर काम गर्नु पर्नेमा जोड दिनुभयो ।

सहकारीलाई व्यवस्थित रुपमा सञ्चालनका लागि संस्थागत सुशासन र वित्तीय पारदर्शितासंगै योजना निर्माण गरेर अगाडि बढ्नु पर्नेमा जोड दिदै जिसीले रणनीतिक योजना निर्माण गर्दा सदस्यसंगको भावना, चाहना र आवश्यकतालाई ध्यान दिनु पर्ने बताउनुभयो ।

सहकारी अभियानमा पछिल्लो समय देखिएका छिटफुट घटनाले आम सहकारीलाई हेर्ने दृष्टिकोणमा समेत समस्या आएको भन्दै उहाँले सहकारीको साख बढाउने गरी सबै सहकारीहरुले योजनावद्ध रुपमा सदस्य केन्द्रीत भएर र ऐन कानुनलाई पालना गरेर काम गर्न सुझाव दिनुभयो ।
२ दिनसम्म चल्ने गोष्ठीमा राष्ट्रिय सहकारी बैंक तालिम विभागका वरिष्ठ अधिकृत नवकुमार अधिकारीले सहजीकरण गर्ने संस्थाले जनाएको छ ।

रणनीतिक योजना उद्घाटन कार्यक्रम संस्थाका अध्यक्ष कल्याण कुमार पोखरेलको अध्यक्षता, उपाध्यक्ष ओमनाथ शर्माको स्वागत र सचिव हिमालजंग केसीको सञ्चालनमा सम्पन्न भएको थियो ।

कार्यक्रममा संस्थाका व्यवस्थापक शिव वाग्लेले संस्थाको समग्र अवस्थाका बारेमा जानकारी गराउनु भएको थियो । संस्थामा हाल २ हजार २ सय जना शेयर सदस्य, १ करोड ६५ लाख शेयर पूँजि, ८ करोड ५० वचत, ९ करोड ५० लाख ऋण लगानी तथा १२ करोड ५० लाख कुल कारोबार र १ करोड २५ लाख जगेडाकोष रहेको व्यवस्थापक वाग्लेले जानकारी दिनुभयो ।

आफ्नै भवनबाट सदस्यहरुलाई सेवा दिदै आएको संस्थाले वित्तीय लगायत सामाजिक कार्यहरु गर्दै आएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *