अस्ताए पोखराका ‘फादर अफ एलोपेथिक मेडिसिन’

आदर्श अनलाइन, पोखरा
पोखराका पुराना चिकित्सक डा. कुमारशमसेर राणाको निधन भएको छ । उनको ८५ वर्षको उमेरमा शुक्रबार बिहान निधन भएको हो ।

अस्वस्थ भई उनी ५ दिनअघि पोखराको फेवा सिटी अस्पतालमा भर्ना भएका थिए । राणा लामो समयदेखि उच्च रक्तचाप, मधुमेह र दमका बिरामी थिए । तर, पछिल्लोपटक राणालाई निमोनिया देखिएको उपचारमा संलग्न डाक्टहरुले बताएका छन् । उनमा पछिल्लो समय उच्च रक्तचाप, मधुमेह र दम रहेकोमा पछिल्लो समय निमोनियाले सताएको थियो ।

फादर अफ एलोपेटिक मेडिसिनको रुपमा पोखरेलीले चिन्ने गरेका उनी पद्म नर्सिङ होम प्रालि पोखराका संस्थापक अध्यक्ष हुन् । पोखरामा प्राइभेट नर्सिङ होम खोल्ने राणा पहिलो हुन् । निधनको १५ दिन अघिसम्म पनि उनले पद्म नर्सिङको ओपिडी वार्ड हेर्थे । पद्म नर्सिङमा उनले ५ सय रुपैयाँ टिकट शुल्क लिएर बिरामी हेर्थे । अहिले पोखरामा टिकट खर्च बापत् डाक्टरहरुले ८ सय देखि १ हजार रुपैयाँसम्म लिन्छन् । उनको निधनमा नेपाल स्वाथ्यकर्मी तथा कर्मचारी युनियन पद्म नर्सिङ होम प्रालिले विज्ञप्तिमार्फत शोक व्यक्त गरेको छ ।

राणा १९९४ मा पाल्पा दरबारमा जन्मिएका थिए । राणा पोखराका अग्रणी चिकित्सक हुन् । विसं २०१९ मा स्वास्थ्य क्षेत्रमा प्रवेश गरेका उनले नेपाल मेडिकल काउन्सिलमा २९ औं नम्बरमा लाइसेन्स लिएका थिए । उनको लाइसेन्स नम्बरबाट उनी पोखराको मात्रै नभई मुलुकै पहिलो पुस्ताको चिकित्सक भएको देखिन्छ । राणाका छोरा र श्रीमतीको यसअघि नै मृत्यु भइसकेको छ । उनका बुहारी छोरी र नातिनातिना छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *