जीर्ण विद्यालय भवनले पठनपाठनमा समस्या


आदर्श अनलाइन, बागलुङ

विद्यालय भवन मर्मत अभावमा गाह्रो बाङ्गिएको छ, भवन छाएको जस्ता पाता खिया मात्रै लागेको छैन कुच्चिएको समेत छ, भित्ताको माटो उप्किएर भवन चर्किएको भाग प्रष्ट देखिन्छ ।

बागलुङको एक विद्यालय भवनको कारुणीक अवस्था देख्ने जो केहीको मनमा प्रश्न आउन सक्छन् यो विद्यालय सञ्चालनमा छ र ? भवन समयमै मर्मत संभार नगरे पठन पाठन चलिरहेकै अवस्थामा भत्किन सक्ने जीर्ण भवन कुनै दुर्गम गाउँको भने हैन । नत विद्यार्थी अभावमा बन्द नै भएको विद्यालय हो यो ।

उक्त विद्यालय बागलुङ जिल्ला सदरमुकाम स्थित बागलुङ नगरपालिका–७ ठाडाँस्वार छरिखोला स्थित सरस्वती प्राथमिक विद्यालयको हो । विद्यालयको भौतिक संरचनाको दुई कोठे भवन जीर्ण हुँदा पठन पाठनमा समस्या भएको छ । आफ्नो दुई कोठे जीर्ण भवनबाटै विद्यार्थीलाई पठन पाठन गराउन बाध्य रहेको विद्यालयका प्रधानध्यापक रेशम परियार बताउनुहुन्छ ।

“दलित समुदायका विद्यार्थी अध्ययनरत छन् यहाँ तर भवन अभावमा पठन पाठनमा निकै समस्या भयो, जीर्ण दुई कोठे भवन र तीन कोठे पक्की भवन छ तर बालविकास र पाँच कक्षा, प्रशासनिक काम, पुस्तकालय र प्रयोगशाला सबै त्यही पाँचवटा कोठाबाट चलाइएको छ” परियारले भन्नुभयो “पक्की भवनको कोठालाई बाँडेर पढाउन बाध्य छौं, जीर्ण भवन मर्मत गर्ने विद्यालयको आन्तरिक स्रोत छैन ।”

उहाँले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि भवन माग गरेपनि छनौटमा नपरेको बताउनुभयो । उहाँले विद्यालयको आर्थिक अवस्था नाजुक हुँदा समस्या भएको बताउनुभयो । विद्यालयको दुराअवस्था देख्द देख्दै पनि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा विद्यालय भवन नपरेको प्रअ परियारको गुनासो छ । बागलुङ नगरपालिका–७ का वडा अध्यक्ष मघराज गैरेले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट भवनलाई बजेट पर्ला भनेर वडाले तारबारलाई बजेट पारेको बताउनुभयो ।

“भवन बनाउनालाई त धेरै रकम लाग्छ वडाले सक्दैन भवन मर्मत संभार गर्ने योजना थियो, फेरी भवन बनाउन बजेट आए बजेट खेर जाला भनेर तारबारलाई बजेट दिइयो” गैरले भन्नुभयो “विद्यार्थी कम भएको विद्यालयलाई त केही नहोला तर यहाँत दलित समुदायका विद्यार्थीलाई पठन पाठनमा असहज भएको छ ।” यस वर्ष राष्ट्रपति शैक्षिक सुधार अन्र्तगतको कार्यक्रममा भवन समावेश नभएपनि अर्कोपटक पहिलो प्राथमिकतामा पारेर भवन माग गर्ने बागलुङ नगरपालिकाका नगर शिक्षा अधिकारी धन प्रसाद पोखरेलले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *