आदर्श अनलाइन, मुस्ताङ
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मुक्तिनाथका वडाध्यक्ष प्रमेश गुरुङ जनप्रतिनिधि मात्रै नभएर वर्षौंदेखि च्याङ्ग्रा पाल्दै आइरहेका कृषक पनि हुन्। हरेक वर्ष करिब एक सयको सङ्ख्यामा च्याङ्ग्रा पाल्दै आइरहेका उनले विगत वर्षका यो समयमा सबै च्याङ्ग्रा बेचिसकेका हुन्थे।
पोहोरसम्म पनि यो समयमा मुस्ताङमा च्याङ्ग्रा खरिद गर्ने व्यापारीहरूको तँछाडमछाड हुने गरेको भए पनि यस वर्ष व्यापारीको खासै उपस्थिति देखिएको छैन। आवश्यकताअनुसार र ठूला च्याङ्ग्रा आफ्नो भागमा पार्न सोह्र श्राद्धकै अवधिमा च्याङ्ग्रा किन्नेहरूको भीड लाग्ने गरेको भए पनि यस वर्ष त्यति धेरै व्यापारी मुस्ताङमा देखिएका छैनन्। यसैले आफूले पालेका च्याङ्ग्रा अझैसम्म पनि खोरमा नै रहेको वडाध्यक्ष गुरुङ बताउँछन्।
‘पोहोर परार त यो बेलामा माथिबाट आएका र तल पालिएका च्याङ्ग्रा व्यापारीले झारिसकेका हुन्थे। शुरुमा जानेले रोजेर ठूला च्याङ्ग्रा पाउँछ भनेर व्यापारीहरूकै प्रतिस्पर्धा हुन्थ्यो‚ अहिले त अझैसम्म पनि व्यापारीहरू खासै आएका छैनन्,’ उनले भने, ‘अहिले च्याङ्ग्राको भाउ पनि पोहोरको भन्दा धेरै भएको छ। यही भएर धेरै बिक्री गर्न नसकिने भनेर पनि व्यापारीहरू थोरै आएका होलान्।’
कोरोना सङ्क्रमणपूर्व चीनसँग सिमाना जोडिएको कोराला नाका खुला हुँदा चीनबाट पनि च्याङ्ग्रा आयात हुने गरेको थियो। मुस्ताङ, डोल्पा र मुगुका च्याङ्ग्राको मूल्यको तुलनामा चीनबाट ल्याइने च्याङ्ग्रा सस्तो हुँदा बजारमा बिक्री गर्न सजिलो पनि थियो।
तर कोरोना सङ्क्रमणका कारण कोराला नाका बन्द हुँदा चीनबाट आउने च्याङ्ग्रा मुस्ताङमा भित्रिन पाएका छैनन्। जसका कारण बजारको माग मुस्ताङ, डोल्पा र मुगुको च्याङ्ग्राले मात्रै धान्नुपर्ने अवस्था आउँदा हरेक वर्ष भाउ बढ्दै गइरहेको वडाध्यक्ष गुरुङ बताउँछन्।
अर्का किसान छिरिङ नोर्बु गुरुङले भने करिब एक सयभन्दा बढी च्याङ्ग्रा बिक्री गरिसकेका छन्। तर उनले पनि बाहिरका व्यापारीहरूलाई नभई स्थानीय व्यापारीलाई आफ्ना च्याङ्ग्रा बिक्री गरेका हुन्।
कतिपय स्थानीय व्यापारीले स्थानीय कृषकका च्याङ्ग्रा आफूहरूले किनेर राख्ने अनि बाहिरका व्यापारी जाँदा केही नाफा राखेर उनीहरूलाई बिक्री गर्दै आएका छन्।
‘बाहिरका व्यापारीहरू नआइसकेको अवस्था छ। तर पोहोर यो बेलामा जति आएका थिए अहिले त्यति आएका छैनन्। यो वर्ष सबैभन्दा धेरै हिजो लगभग एक हजार जतिको हुल तल पुल तर्दै गरेको देखेको थिएँ,’ छिरिङ भन्छन्, ‘छिटो झार्दा पनि च्याङ्ग्रा बिरामी हुन्छ भनेर पनि हुन सक्छ। अब सोह्र श्राद्धको अन्तिमतिर माथिबाट धेरै झर्छ होला।’
गत वर्ष रोज्जा च्याङ्ग्रा ३३/३४ हजारमा होलसेलमा दिएको बताउँदै उनले यस वर्ष आफूले बिक्री गर्दा ३७ हजारको दरमा स्थानीय व्यापारीलाई दिएको सुनाए।
‘मेरो खोरको रोजा खसीलाई ३७ हजारको दरमा मैले होलसेलमा यहाँको व्यापारीलाई बेचेको हुँ,’ गुरुङले थपे, ‘खोरमा केही रमा (पोथी च्याङ्ग्रा) छन्। तिनलाई अब ३२/३३ हजारसम्ममा बेचिन्छ होला। पोहोरको भन्दा यो वर्ष त मूल्य बढ्ने नै भयो।’
डोल्पा र मुगुका च्याङ्ग्राहरू पनि मुस्ताङ निकालेर मुस्ताङका च्याङ्ग्रा सँगसँगै म्याग्दीको बेनी, बागलुङ, पर्वतको कुश्मा, पातिचौर, लुम्ले हुँदा पोखरासम्म पुग्छन्।
लामो दूरी पार गर्नुपर्ने व्यापारीहरूलाई च्याङ्ग्रालाई दुब्लाउन नदिन र अरूको भन्दा छिटो बजारमा बिक्री गर्न ट्रकमा पनि ओसार्ने गरेका छन्। तर धेरैजसो व्यापारीहरूले बाटोमा बिक्री गर्दै जान पाइने र ट्रकमा राख्दा एउटा मात्रै पनि निसास्सिएर मरेमा त्यो बथानकै नाफा सकिने डरले हिँडाएर नै बजार लैजान्छन्।
डोल्पाबाट आएका च्याङ्ग्रा कागबेनीभन्दा पारिको गाउँबाट पनि बेंसी झर्ने बाटो भएकाले कति झरे भन्ने यकिन हुँदैन तर धेरैजसो भने कागबेनीको बाटो झारिन्छन्।
विगतमा यो समयमा बाटैभरि च्याङ्ग्राको भीड हुने गरेको भए पनि यस वर्ष बाटोमा खासै नदेखिएको कागबेनीका होटल व्यवसायी छेप्तेन गुरुङले बताए।