म्याग्दीका सहकारीकर्मीहरु भन्छन्, : सहकारीका समस्या समाधान नभए आन्दोलनको विकल्प छैन

आदर्श अनलाइन, बागलुङ
म्याग्दी जिल्लाका सहकारीकर्मीहरुले सहकारीमा पछिल्लो समय देखिएको समस्या समाधानका लागि अभियान र सरकारका बीच सहकार्य र समन्वयमा जोड दिएका छन् । जिल्ला सहकारी संघ लिमिटेड म्याग्दीले बिहीवार आयोजना गरेको सहकारीको विद्यमान अवस्था, समसामयिक अवस्था, समस्या पहिचान र समाधान विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् ।

सहकारीकर्मीहरुले सहकारी विभागलाई सन्दर्भ ब्याजदर परिमार्जनका लागि तत्काल वैठक बस्ने वातावरण मिलाउन माग गरेका छन् । उनीहरुले संविधानको मर्म र भावना अनुसार अर्थतन्त्रको एक खम्बा सहकारी क्षेत्रलाई प्रवद्र्धन गर्ने दायित्व सहकारी विभागको भएकाले समस्या समाधानका लागि पहल गर्न माग गरेका हुन् ।

राष्ट्रिय सहकारी महासंघलाई सहकारीका विद्यमान समस्या समाधानका लागि सरकारसंग समन्वय गर्न, दवाव सिर्जना गर्न तथा आवश्यक पर्दा देशव्यापी आन्दोलनका लागि समेत लाग्न सुझाव पठाउने निर्णय सहकारीकर्मीहरुले गरेका छन् ।

राज्यसंग समन्वय गरेर विद्यमान समस्या समाधानका लागि सहकारी अभियानले थप सक्रियता बढाउन आवश्यक छ, जिल्ला सहकारी संघ म्याग्दीका अध्यक्ष दिपक कार्कीले भन्नुभयो– समन्वय गर्दा पनि समस्या समाधानमा राज्यका तर्फबाट सुनुवाई भएन भने देशभरका सहकारीकर्मीहरुलाई सडकमा उतार्न राष्ट्रिय सहकारी महासंघले आव्हान गर्नु पर्दछ ।

सहकारी भनेको वित्तीय कारोबार गर्ने क्षेत्र हो, यसले राज्यसंग समन्वय गरेर काम गर्नु पर्छ, सहकारीलाई समस्या पर्दा राज्यका तर्फबाट पहलकदमी भएन भने दवाव सिर्जना गर्ने र आवश्यक पर्दा आन्दोलनको अगुवाई समेत अभियानले गर्नु पर्ने कार्कीको भनाइ छ ।

सहकारी संघ संस्थाहरुलाई सुशासनमा रहेर सञ्चालन गर्न, सहकारीका शेयर सदस्यहरुलाई वर्तमान समस्याका बारेमा जानकारी गराउन, शेयर र वचत वृद्धिका साथै ऋणको किस्ता र ब्याज समयमै बुझाउनका लागि योजना बनाउन, सहकारीका सकारात्मक विषय र पछिल्लो समयको समस्याका बारेमा सदस्यहरुलाई जानकारी हुने गरी नियमित रुपमा सहकारी शिक्षा तथा सचेतना कार्यक्रम सञ्चालन गर्न आव्हान गरिएको छ ।

कार्यक्रममा बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछाने, राष्ट्रिय सहकारी महासंघका सञ्चालक हुमा कुमारी जि.सी.(अञ्जु), राष्ट्रिय सहकारी बैंकका सञ्चालक राम बहादुर जिसी, जिल्ला सहकारी संघ म्याग्दीका पूर्व अध्यक्ष देउप्रसाद छन्त्याल, राष्ट्रिय सहकारी बैंक म्याग्दी जिल्ला स्तरीय समन्वय उपसमितिका संयोजक रमेश गिरी लगायतले सहकारीमा समस्या आउनुका कारणहरु, समस्या समाधानका लागि सहकारी अभियानकर्मीहरु र राज्यका तर्फबाट गर्नु पर्ने कामका विषयमा धारणा राख्नु भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *