बेगनास र रुपा तालमा देशमै नौलो प्रविधिबाट विद्युत् उत्पादन हुने

आदर्श अनलाइन, पोखरा
पोखराको बेगनास र रुपा तालको पानी पम्प स्टोरेज प्रविधि प्रयोग गरि १ सय ५० मेगावाट विद्युत् उत्पादन गर्ने योजना अघि बढाइएको छ ।

योजनाअनुसार बाँध बाँधेर बेगनास तालको पानीको उचाईमा केही वृद्धि गरि रुपा तालमा प्रवाह गरि विद्युत् उत्पादन गरिनेछ । बेगनास ताल प्राकृतिक रुपमा पनि रुपा ताल भन्दा केही उचाईमा रहेको फाइदा उठाउदै तालमा सञ्चित पानीलाई प्रयोग गर्ने योजना हो । नेपालमै पहिलो पटक बनाउन लागिएको बेगनास–रुपा पम्प जलासययुक्त जलविद्युत् आयोजना निर्माण एवम् सन्चालन गर्न रु २० अर्ब खर्च लाग्ने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

बुधबार एक कार्यक्रमबीच योजनाको वातावरणीय तथा सामाजिक अध्ययनको प्रगति विवरण सार्वजनिक गरिएको थियो । प्रधिकरणको इञ्जिनियरिङ सेवा निर्देशनालय आयोजना विकास विभागले वातावरण तथा सामाजिक क्षेत्रमा हालसम्म भएका अध्ययन प्रगतिका बारेमा बुधबार पोखरामा सरोकारवालासँग अन्तरक्रियात्मक कार्यक्रम गरी सार्वजनिक गरेको हो ।

विसं २०७४ मा सरकारबाट सर्वेक्षण अनुमतिपत्र प्राप्त गरी प्राधिकरणले जलविद्युत् सञ्चालन गर्न वातावरणीय तथा सामाजिक अध्ययन कार्य अगाडि बढाएको थियो । बेगनास तालमा भइरहेको पानीको सतहलाई एक मिटर बढाइ सङ्कलित गरिएको पानीलाई एक किलोमिटर सुरुङ मार्गमार्फत रुपातालको छेउमा विद्युत्गृह निर्माण गरी गृहबाट निस्केको पानी रुपातालमा लगेर खसाल्ने र पुनः रुपातालको पानी पम्पमार्फत बेगनासमा नै ल्याइने योजनाका साथ प्राधिकरण निर्माणमा अगाडि बढेको छ ।

उक्त आयोजनाबाट ‘पिकआवर’ अर्थात साँझको समयमा दैनिक चार घण्टा विद्युत् निकाल्न सकिन्छ, यसले पिकआवरमा हुने विद्युत् अभावलाई केही मात्रामा सहयोग पुर्याउने जानकारी प्राधिकरणका प्राविधिक प्रकाश गौडेलले जानकारी दिनुभयो । बेगनास तालभन्दा रुपातालमा रहेको पानीको सतह ६८ मिटर गहिराइमा भएकाले रुपातालमा विद्युत्गृह सञ्चालन गर्न सजिलो हुने छ ।

दैनिक अधिकतम साँझ ५ बजेदेखि ९ बजेसम्म विद्युत् उत्पादन गर्न सकिने र यस समयमा बेगनासको पानीको सतह एक मिटरले कम हुने छ राति १२ देखि भोलिपल्ट बिहान ४ बजेसम्म रुपातालमा जम्मा भएको पानी पुनः बेगनासतालमा पम्पमार्फत तानिने छ । पिक आवरका बेला उत्पादन दिने र राति कम माग हुने बेला पम्पको प्रयोग गरि पानी पुन बेगनास तालमा तानिँदा योजना सम्भाव्य मानिएको हो ।

स्थानीय सरकोकारवाला समेत रहेका पूर्व स्वास्थ्य तथा गृहमन्त्री खगराज अधिकारीले जलचरमा पर्ने असरलाई कम गर्दै तालबाट हुने सिँचाइ, डुङ्गा व्यवसायी तथा स्थानीयवासीलाई असर नपुग्ने गरी आयोजना सञ्चालन गर्नुपर्नेमा बताउनुभयो ।

स्थानीय सरोकारबाला तथा बेगनास सिञ्चाइ सरोकार समितिका पूर्व अध्यक्ष पुष्पराज भण्डारीले बेगनास तालको पानीले आठ सय ८० हेक्टर जमिन सिँचाइ भएको र विद्युत् आयोजना सञ्चालन हुँदा स्थानीय उपभोक्ता सिँचाइबाट वञ्चित हुन नहुने बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *