लोकेन्द्र निरासी, बुर्तिबाङ
सन् नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले विविध कार्यक्रम गरी आफ्नो ५ औं स्थापना दिवस मनाएको छ । उक्त अवसरमा कम्पनीको बुर्तिबाङ शाखाले फरक क्षमता भएका विद्यार्थीहरुलाई फलफूल वितरण गरेको छ ।
स्थापना दिवसको शुभअवसर पारेर कम्पनीको बुर्तिबाङ शाखाले उत्तरगंगा माध्यमिक विद्यालयमा अध्ययनरत फरक क्षमता भएका विद्यार्थीहरुलाई फलफूल वितरण गरेको हो । कम्पनीको ५ औं स्थापना दिवसको अवसरमा देशभरका विभिन्न शाखा तथा उपशाखाहरुले रक्तदान कार्यक्रम, सडक बालबालिकालाई न्यानो कपडा वितरण, बीमा जागरण कार्यक्रम लगायतका फरकफरक कार्यक्रमहरु गरी स्थापना दिवस मनाएको बताइएको छ । सोही अवसरमा विहिबार विभिन्न शाखाहरुले रक्तदान कार्यक्रम सम्पन्न गरेपनि बुर्तिबाङ शाखाले भने फरक क्षमता भएका बालबालिकाहरुलाई फलफूल वितरण गरेको हो । रक्तदानका लागि बुर्तिबाङमा ब्लड बैंकको सुविधा नभएकाले फरक कार्यक्रम गरेर स्थापना दिवस मनाएको बताइएको छ ।
उक्त कार्यक्रममा बोल्दै सन् नेपाल लाइफ इन्स्योरेन्स कम्पनी बुर्तिबाङ शाखाकी प्रमुख सरस्वती घिमिरेले संस्था स्थापना कालदेखि अहिलेसम्म प्रभावकारी रुपमा कारोबार गर्न सफल भएको र सामाजिक सेवाको क्षेत्रमा समेत अग्रसरता देखाउँदै आएकाले आगामी दिनमा पनि सामाजिक सेवाका कार्यहरुलाई समेत निरन्तरता दिने बताउनु भयो । साथै उहाँले जीवन बीमाको महत्वलाई बुझेर सबै नागरिकले जीवन बीमालाई जोड दिनुपर्ने बताउनु भयो ।
त्यसैगरी उक्त कार्यक्रममा उत्तरगंगा माध्यमिक विद्यालयका निमित्त प्रधानाध्यापक हरिचन पाण्डेले सन् नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो स्थापना दिवरको अवसर पारेर विद्यालयका अपाङगता भएका विद्यार्थीहरुलाई फलफूल वितरण गरी मानवीय कार्य गरेको भन्दै धन्यवाद व्यक्त गर्नुभएको थियो ।
उक्त कार्यक्रममा बोल्दै विद्यालयका शिक्षक नवीन जी.सी.ले कम्पनीको बुर्तिबाङ शाखाले यस क्षेत्रका नागरिकहरुको जीवन बीमा गरी आफ्नो उत्कृष्ट कारोबार गर्नुका साथै सामाजिक सेवामा समेत अग्रसरता देखाउनु स्वागतयोग्य कार्य भएको बताउनु भयो । कार्यक्रममा संस्थाका एजेन्सी म्यानेजर, मार्केटिङ म्यानेजर, अभिकर्ता साथै विद्यालयका शिक्षक, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।
वि.सं. २०७४ साल असोज ६ गते स्थापना भएको सन् नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले देशभरका आफ्ना ३० शाखा र १६१ उपशाखाहरुबाट जीवन बीमाको कारोबार गर्दै आएको छ । वि.सं.२०७५ चैत्र महिनादेखि कारोबार सुरु गरेको बुर्तिबाङ शाखाले छोटो समयमै उत्कृष्ट कारोबार गर्न सफल भएको बताइएको छ । यस शाखाले गत आर्थिक वर्षमा देशभरका शाखाहरुमध्ये सबैभन्दा उत्कृष्ट कारोबार गरेको भन्दै कम्पनीबाट पुरस्कृत समेत भएको थियो ।
सन् नेपाल लाइफ इन्स्योरेन्स कम्पनी बुर्तिबाङ शाखाकी प्रमुख सरस्वती घिमिरेको अध्यक्षता रहेको उक्त कार्यक्रमको संचालन होम बहादुर महतले गर्नुभएको थियो ।