सरल नमुना सहकारीको साधारण सभामा सदस्यलाई प्रशिक्षण

आदर्श अनलाइन, बागलुङ
सहकारीहरुको साधारणसभामा उद्घाटन सत्र लामो र बन्द सत्र छोटो हुन्छ भन्ने गुनासोलाई चिर्दै पोखराको एक सहकारी संस्थाले साधारणसभामा सदस्यहरुलाई प्रशिक्षण दिएको छ । सरल नमुना वचत तथा ऋण सहकारी संस्था लिमिटेड कास्कीले संस्थाको १५ औं वार्षिक साधारणसभामा सदस्यहरुलाई सहकारी सचेतना तालिम प्रदान गरेको हो ।

सदस्यहरुलाई संस्थाको समग्र अवस्थाका बारेमा जानकारी गराउनुका साथै सदस्यको भूमिका र समसामयिक अवस्थाका बारेमा प्रशिक्षण दिइएको अध्यक्ष निर्मल प्रसाद बास्तोलाले जानकारी दिनुभयो ।

सहकारीहरुको साधारणसभामा उद्घाटन सत्र लामो हुने, भाषण धेरै हुने र बन्द सत्रमा सहकारी संस्थाको समग्र अवस्थाका बारेमा छलफल नहुने गरेको गुनासोलाई चिर्नका लागि हामीले साधारणसभामा सदस्यहरुलाई प्रशिक्षण दिएका हो, अध्यक्ष बास्तोलाले भन्नुभयो–‘सदस्यहरुलाई सहकारी सम्बन्धी सचेतना प्रदान गर्नका लागि साधारणसभा अत्यन्तै उपयुक्त स्थल हुदो रहेछ ।’

कार्यक्रममा वक्ताहरुले सहकारी संस्थालाई व्यवस्थित र प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि सदस्यहरुलाई सक्रिय र सचेत बनाउनु पर्नेमा जोड दिनु भएको थियो ।

सहकारीमा शेयर सदस्यको भूमिका, जिम्मेवारी, दायित्व र अधिकार लगायत सहकारीलाई प्रभावकारी सञ्चालनमा सदस्यको योगदानका बारेमा सहजीकरण गरिएको थियो । प्रमुख अतिथि राष्ट्रिय सहकारी बैंकका सञ्चालक राम बहादुर जिसीले सहजीकरण गर्दै सदस्यको हक हित र उत्थानका लागि स्थापित भएका सहकारीहरुले सदस्यहरुलाई केन्द्रीत गरेर योजना र कार्यक्रम ल्याउनु पर्नेमा जोड दिनुभयो ।

सहकारीहरुले सदस्य भन्दा पूँजिलाई प्राथमिकता दिने र सदस्यहरुले सेवालाई भन्दा नाफालाई महत्व दिएका कारण सहकारीहरुले लक्ष्य प्राप्त गर्न नसकेको चर्चा गर्दै जिसीले सदस्यहरुले संस्थामा आफुलाई ग्राहक होइन मालिकका रुपमा बुझेर कारोबार गर्नुका साथै संस्थाका हरेक गतिविधिमा साथ दिनु पर्ने बताउनुभयो ।

सहकारीको प्रभावकारीताका लागि सक्रिय शेयर सदस्य, क्षमतावान सञ्चालन र दक्ष कर्मचारीको आवश्यता पर्ने भएकाले संस्थाले नियमित रुपमा शिक्षा, तालिमका कार्यक्रम सञ्चालन गर्नु पर्ने जिसीको सुझाव थियो ।

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका पूर्व सञ्चालक डिल्लीराम तिवारीले सहकारीका साधारणसभाहरु विषय केन्द्रीत गराउनका लागि सरल नमुनाले गरेको प्रयास सह्रानीय रहेको भन्दै अन्य सहकारीहरुले पनि साधारणसभा सञ्चालन प्रक्रियामा सुधार ल्याउनु पर्ने बताउनुभयो ।
जिल्ला सहकारी संघ कास्कीका वरिष्ठ उपाध्यक्ष छवि लामिछानेले पछिल्लो समय सहकारीमा देखिएका समस्या समाधानका लागि सदस्यहरुकै सक्रियतामा जोड दिनुभयो ।

संस्थाका अध्यक्ष निर्मल प्रसाद बाँस्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष सरस्वती श्रेष्ठ र सञ्चालन हरि प्रसाद पन्थीले गर्नु भएको थियो । साधारणसभामा जेष्ठ नागरिकहरु, उत्कृष्ट कारोबार गर्ने शेयर सदस्यहरु र उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई पुरस्कृत गरिएको थियो ।

साधारणसभामा प्रवन्धक पन्थीले प्रस्तुत गरेको प्रगति प्रतिवेदन, कोषाध्यक्ष किरण अधिकारीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन, लेखा सुपरीवेक्षण समितिका संयोजक कमलराज पराजुलीले प्रस्तुत गरेको लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन पारित भएको छ ।

१ हजार १ सय ३१ जना शेयर सदस्य रहेको सरल नमुना साकोसमा २ करोड ६६ लाख शेयर पूँजि, १० करोड ९६ लाख वचत रकम, १२ करोड १३ लाख ऋण लगानी र १६ करोड ४७ लाख कुल पूँजि रहेको निवर्तमान अध्यक्ष दिपक प्रसाद बास्तोलाले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *