दूध बेचेर बागलुङे किसानले गाउँ भित्राए छ करोड

खेमराज गौतम, बागलुङ

बागलुङका किसानहरुले दुध विक्रि गरेर शहरको पैसा गाउँमा भित्राएका छन् । बागलुङको काठेखोला र बागलुङ नगरपालिकाका किसानहरुले दुध विक्रि गरेको एक वर्षमा रु. ६ करोड ११ लाख ६८ हजार ३१६ रकम गाउँमा भित्राउन सफल भएका छन् ।

किसानले उत्पादन गरेको दूध सहकारी मार्फत प्रशोधन सहितको बजारीकरण गरी यहाँका कृषकहरुले मनग्य आम्दानी गर्दै आएका छन् ।

जिल्लाको बागलुङ नगरपलिका र काठेखोला गाउँपालिकाका १४ वटा दूग्ध सहकारीमा आवद्ध किसानहरुले आर्थिक वर्ष २०७८/७९ मा दूध बिक्रि गरेर रु. ६ करोड ११ लाख ६८ हजार ३१६ आम्दानी गर्न सफल भएका छन् ।

सहकारीमार्फत दूधको संकलन, प्रशोधन र बजारीकरण गर्दा यहाँका किसानहरुले दिर्घकालिन रुपमा नै आम्दानी गर्न सफल भएका हुन् । दूध उत्पादन गर्न सके बजारीकरणको जिम्मा सहकारीले लिने भएकाले आफूजस्ता किसानलाई सहज भएको काठेखोला गाउँपालिका–५ का केशव प्रसाद कंडेलले बताउनुभयो । कंडेल सृजना दुग्ध उत्पादक सहकारी संस्थाका सञ्चालक समेत हुनुहुन्छ ।

काठेखोला गाउँपालिका–६ स्थित नमूना दूग्ध उत्पादक सहकारी संस्थाका शेयर सदस्यहरुले मात्रै दैनिक ३०० दूध सहकारी संघलाई बजारकिरणमा पठाउने गरेको किसान बालानन्द कंडेलले जानकारी दिनुभयो ।

“दूध उत्पादन मात्रै गरेर भएन, विक्रिका लागि बजार टाढा छ, दश लिटर दूध लिएर बजार आउने कुरा भएन सहकारी मार्फत दूध विक्रि गर्दा दूध धेरै टिकाउन सकिने, दूधको प्रशोधन पछि विक्रि नभएमा अन्य उत्पादन गर्ने भएकाले हाम्रो दूधको बजार सुनिश्चितता भयो” कंडेलले भन्नुभयो “सहकारीले दूधको रकम सहकारी मार्फत भुक्तानी गर्दा सहकारीको कारोबारको आधारमा नाफा समेत आउछ, किसानलाई दूध ढुवानी, घाँस ढुवानीमा अनुदान आउछ साथै पशुका लागि प्राविधिक सल्लाह र उपचार समेत सहकारी मार्फत नै हुँदा सहज भएको छ ।”

१४ वटा सहकारीका शेयर सदस्य रहेका किसानले गाउँ–गाउँमा संकलन गरेको दूध एक मुष्ट बागलुङ दुग्ध उत्पादनक सहकारी संघले संकलन, प्रशोधन तथा बजारीकरण गर्दै आएको छ ।

बागलुङ दूग्ध उत्पादक सहकारी संघले एक आर्थिक वर्षमा मात्रै १४ सहकारीका शेयर सदस्य किसानबाट रु. छ करोड बढीको दूध खरिद गरेर विक्रि वितरण गरेको सहकारीका अध्यक्ष दिपक गौतमले बताउनुभयो । १४ सहकारीमा आबद्ध करिब एक हजार ४०० किसानहरुले एक वर्षमै ६ करोड भन्दा बढी रकम आम्दानी गरेका हुन् ।

“किसानहरुले दूध उत्पादन गर्ने तर बजारको सुनिश्चितता नहुँने मुख्य समस्या थियो, दूधलाई तापक्रम मिलाएर राख्न पर्ने तथा दूध बिग्रेर खेर जाने समस्याका कारण किसानहरुले दूध उत्पादनका लागि ठूलो लगानी गर्न नसकेको अवस्था थियो” अध्यक्ष गौतमले भन्नुभयो “किसान विचौलियाको मारमा समेत पर्नाले धरासायी बन्ने अवस्थाको अन्त्य गर्न सहकारी मार्फत दूध संकलन गरी सहकारीलेनै घर–घरमा दूध पु¥याउने कार्य गर्दै आएको छ, अहिले सहकारीले किसानबाट संकलन गरेको तीन हजार लिटर दूध दैनिक विक्रि भइरहेको छ, हामीले थोरै मुनाफा राखेर अरु रकम किसानलाई दिदा किसानलाई दूग्ध व्यवसायप्रति उत्साह आएको छ ।”

गौतमका अनुसार थोरै दूध उत्पादन गर्ने किसानले बजार टाढा भएकाले समस्यामा पर्ने भएपनि थोरै–थोरै दूध सहकारीमा जम्मा गरेर सहकारी मार्फत एक मुष्ट बागलुङ बजारमा ल्याउदा बजारीकरणमा सहज भएका कारण किसानहरु उत्साहित बनेका हुन् । सहकारी २०५७ सालमो स्थापना गर्दा दूध संकलन गरी ल्याउने र विक्रि नभएर नालीमा फाल्ने सहकारी अहिले बागलुङमा दूधको ब्राण्डनै बनाएको छ भने १९ जना कर्मचारीलाई प्रत्यक्ष रोजगारी समेत दिएको छ ।

दूधलाई एकत्रित गर्ने ताजा दूध विक्रि गर्ने, विक्रि गरेर बचेको दूधको दूधजन्यपदार्थहरु जस्तै घ्यू, नौनी, छुर्पी, लस्सी, पनिर र आइक्रिम बनाएर विक्रि गर्ने काम गर्दै आएको सहकारी संघका प्रबन्धक वैकुण्ठ प्रसाद शर्माले जानकारी दिनुभयो ।

शर्माका अनुसार सहकारीले आर्थिक वर्ष २०७८÷७९ मा मात्रै किसानलाई छ करोड ११ लाख रकम दूध खरिद वापतको रकम भुक्तानी दिएको र सहकारी संघले समेत रु. ७४ लाख खुद बचत गर्न सफल भएको छ । बचत भएको रकमबाट किसानको पशु बिमा गर्ने, दूध तथा घाँस ढुवानी गर्ने तथा पशु प्रर्बद्धनात्म काममा लगनाी गर्ने सहकारी संघले जनाएको छ ।

बागलुङ दूग्ध उत्पादक सहकारी संघमा झण्डै एक हजार पाँच सय किसानहरुले धेरै थोरै दूध बजारीकरणका लागि पठाउछन् । संघले दूध सहित ९ प्रकारका दूग्धजन्य परिकारहरु बिक्रि तथा वितरण समेत गर्दै आएको छ ।

जसमध्ये काठमाण्डौं निर्यात हुने उत्पादन छुर्पी रहेको दूग्ध सहकारीका प्रबन्धक बैकुण्ठ प्रसाद शर्माले जानकारी दिनुभयो । आर्थिक वर्ष २०७८/७९ मा मात्रै रु. पाँच लाख बराबरको छुर्पी काठमाण्डौ निर्यात गरिएको छ ।

सहकारीले एक वर्षमा ८५ लाखको दही, ८ लाख ७८ हजारको घ्यु, सात लाख १८ हजारको पनिर समेत विक्रि गरेको छ । बागलुङलाई गुणस्तरीय छुर्पी उत्पादन हुँने जिल्लाको रुपमा परिचय दिने गरी सहकारीले छुर्पी उतपादनमा बढी जोड दिन थालेको छ ।

अहिले छुर्पीलाई सहकारी संघले प्रति केजी एक हजार २०० मा विक्रि गर्दै आएको छ । सहकारीमा आवद्ध किसानहरुले सहकारीमा आवद्ध भएर दूधको बजारीकरण गर्दा दूधको मुल्यमा समानता र बजारको सुनिश्चिता भएको बताएका छन् । सहकारी संघमा १५ जना कर्मचारीहरुले संकलन भएको दूध बागलुङ बजारका घर घरमै लगेर विक्रि गरेर सेवा प्रदान गर्दै आएका छन् ।

सहकारीको उपयुक्त मोडेलको रुपमा दूग्ध सहकारी विकास भएको र बागलुङ दुग्ध उत्पादक सहकारी संघ देशकै नमुना दुग्ध उत्पादक सहकारी संघका रुपमा स्थापित रहेको राष्ट्रिय सहकारी महांघका सञ्चालक हुमा कुमारी जिसीले बताउनुभयो ।

कृषक सदस्यले उत्पादन गर्ने, सहकारी संस्थाले संकलन गर्ने र सहकारी संघले दुध तथा प्रशोधन गरी दुग्धजन्य पदार्थ विक्री वितरण गरेर सहकारीको असल अभ्यास गरेको जिसीको भनाइ छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *