‘सहकारीका समस्या समाधान गर्न सरोकारवालाबीच सहकार्य गरौँ’

आदर्श अनलाइन, बागलुङ
जिल्ला सहकारी संघ लिमिटेड बागलुङले सहकारी संघ संस्थाका सञ्चालक र व्यवस्थापकहरुबीच समसामयिक विषयमा एक दिने अन्तरक्रिया तथा छलफल कार्यक्रम बिहीवार सम्पन्न गरेको छ ।

सहकारीहरुका समस्या पहिचान, समाधानका लागि आन्तरिक व्यवस्थापन, अभियानको सक्रियता र नियमनकारी निकायसंगको समन्वय गर्नका लागि सहयोग पु¥याउने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष हुमा कुमारी जि.सी. (अञ्जु) ले जानकारी दिनुभयो ।

कार्यक्रममा छलफलका विषयवस्तु बारेमा जानकारी गराउदै राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीले सहकारीका समस्या समाधानका लागि सहकारी संघ संस्थाहरुले आन्तरिक सुशासन र वित्तीय व्यवस्थापनमा ध्यान दिनु पर्नेमा जोड दिनुभएको थियो ।

अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले सहकारीहरुको दिगोपनाका लागि सदस्यहरुलाई शिक्षा र सचेतनामा जोड दिदै आन्तरिक सुशासनमा सुधार ल्याउनु पर्नेमा जोड दिएका छन् । सहकारीको आन्तरिक व्यवस्थापन प्रणालीलाई सुधार गर्ने, सहकारीका सञ्चालक, लेखा सुपरीवेक्षण समितिका पदाधिकारी सदस्यहरु, उपसमितिका सदस्यहरुलाई सक्रिय बनाउनुका साथै कर्मचारीहरुको दक्षता अभिवृद्धिका कार्यक्रम बनाउनु पर्ने सहकारीकर्मीहरुको भनाइ छ ।

सहकारीहरुले आन्तरिक व्यवस्थापनमा आफै ध्यान दिनुका साथै अभियानले शिक्षा, तालिम, प्रविधि र व्यवस्थापन सुधारमा सहयोग गर्न, राज्यसंग सहकारीको विकासका लागि प्रभावकारी समन्वय गर्न उनीहरुले सुझाव दिएका थिए ।

सहकारीले सञ्चालन गरेका कारोबारहरुमा ऋण लगानीमा बढी समस्या देखिएको भन्दै लगानीका क्षेत्रमा प्रभावकारीता ल्याउन सहकार्य आवश्यक रहेको सहभागीहरुको भनाइ थियो ।

कार्यक्रममा जिल्लाभरका विभिन्न सहकारी संघ संस्थाका ४५ जनाले आफ्नो धारणा राख्नु भएको थियो । धारणा राख्ने सहकारीकर्मीहरुले जिल्ला सहकारी संघ र विषयगत सहकारी संघले निरन्तर रुपमा सहकारीका समस्या र समाधानका उपायका बारेमा छलफल गर्न सुझाव दिनु भएको थियो ।

कार्यक्रममा नेपाल सूचना तथा सञ्चार केन्द्रीय सहकारी संघका उपाध्यक्ष मन कुमारी केसी जिसी, जिल्ला सहकारी संघका सल्लाहकारहरु दिपक गौतम र तेजेन्द्र थापा मगर, बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष दुर्गा बहादुर कुँवर, जिल्ला सहकारी संघका उपाध्यक्ष पिंगला खड्का जिसी, बागलुङ नगरपालिका सहकारी शाखाका प्रमुख प्रेम प्रसाद शर्मा लगायतले सहकारीका समस्याको पहिचान गरी समाधानका लागि सरोकारवालाहरुसंग समन्वय गरेर समाधान गर्नु पर्नेमा जोड दिनु भएको थियो ।

जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष तथा राष्ट्रिय सहकारी महासंघका सञ्चालक हुमा कुमारी जिसी (अञ्जु) को अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन संघका सञ्चालक जगन्नाथ सापकोटा र स्वागत सञ्चालक शिवा खत्रीले गर्नु भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *