मराङका सहकारीकर्मीका लागि सहकारी सचेतना कार्यक्रम

आदर्श अनलाइन, बागलुङ
म्याग्दीको धौलागिरी गाउँपालिका वडा नं.६ मराङका सहकारीकर्मीहरुका लागि २ दिने क्षमता अभिवृद्धि तालिम सोमबार सम्पन्न भएको छ ।

जन जागृति उपभोक्ता सहकारी संस्था लिमिटेडले आयोजना गरेको क्षमता अभिवृद्धि कार्यक्रममा सहकारीलाई विषयगतरुपमा सञ्चालनका लागि आवश्यक नीतिगत व्यवस्था र सहकारी सञ्चालनका लागि आवश्यक योजना तथा कार्यक्रमका बारेमा जानकारी गराइएको थियो ।

सहकारी व्यवसायलाई प्रभावकारी रुपमा सञ्चालनका लागि योजना, कार्यक्रमका साथै सहकारीका सदस्यहरुको भूमिका र जिम्मेवारीका विषयमा सहजीकरण गरिएको संस्थाका अध्यक्ष केशव गर्वुजाले जानकारी दिनुभयो ।

तालिममा सहजीकरण गर्दै राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीले समाजमा कम आयश्रोत भएका, ज्याला मजदुरी गरेर जीवन निर्वाह गर्नेहरुलाई सदस्य बनाई उनीहरुलाई माथि उठाउने माध्यमका रुपमा सहकारीलाई सञ्चालन गर्न सुझाव दिनु भएको थियो ।

हुने खानेहरुलाई मात्र सहकारीको सदस्य बनाउने, सदस्य बन्नका लागि जगेडाकोषका नाममा अतिरिक्त रकम लिने, बढी नाफाको प्रलोभन देखाउने, गैर सदस्यहरुसंग कारोबार गरेर संस्थापक शेयरको नाम पारेर नाफा खाने प्रवृति रोक्नु पर्नेमा जिसीको जोड दिनुभयो ।

सहकारी कमजोर आर्थिक अवस्था भएकाहरुको सारथी बन्न सक्नु पर्ने भन्दै जिसीले सहकारीका नाममा नाफा कमाउने सोचका कारण सहकारीमा समस्या आएको बताउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति म्याग्दीका सदस्य श्रीप्रसाद गर्वुजा, धौलागिरी गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष राजाराम उपाध्याय, संस्थाका लेखा सुपरीवेक्षण समितिका संयोजक ठाकुर सुवेदी, ऋण उपसमितिका संयोजक ज्ञान बहादुर गर्वुजा लगायतले स्थानीय स्रोतका अधिकतम परिचालन मार्फत जनताको आर्थिक अवस्था सुधारका लागि सहकारीलाई परिचालन गर्नु पर्नेमा जोड दिनु भएको थियो ।

कार्यक्रम जन जागृति उपभोक्ता संस्थाका अध्यक्ष केशव गर्वुजाको अध्यक्षता, उपाध्यक्ष पूर्ण प्रसाद सुवेदीको स्वागत र सचिव मोहन गर्वुजाको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *