धम्जामा एमालेको ३ सय ३१ सदस्यीय निर्वाचन परिचालन समिति गठन

आदर्श अनलाइन, बागलुङ
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एमालेका उमेदवारहरुलाई विजयी बनाउन प्रभावकारी निर्वाचन परिचालनका लागि धम्जामा निर्वाचन परिचालन समिति गठन गरिएको छ ।

नेकपा एमाले काठेखोला गाउँपालिका वडा नंं ३ धम्जाको बुधवार सम्पन्न निर्वाचन लक्षित वैठकले पार्टीका वडा अध्यक्ष खिम बहादुर छन्त्याल अध्यक्ष र सचिव सूर्य बहादुर भण्डारी सचिव रहेको ३ सय ३१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको हो ।

निर्वाचन परिचालन समितिमा वडा कमिटिका सम्पूर्ण सदस्यहरु, टोल कमिटि, जनसंगठनका पदाधिकारीहरु तथा सदस्यहरु रहने जनाइएको छ । यस्तै साविकको ९ वटै वडामा गठन भएका टोल कमिटिका अध्यक्षहरुको संयोजकत्वमा टोल निर्वाचन परिचालन समिति गठन गरिएको सचिव सूर्य भण्डारीले जानकारी दिनुभयो ।

निर्वाचन परिचालन लक्षित योजना निर्माणका लागि बसेको वैठकलाई सम्बोधन गर्दै नेकपा एमाले गण्डकी प्रदेश कमिटिका सदस्य एवं केन्द्रीय सहकारी तथा गरिवी निवारण विभागका सदस्य राम बहादुर जिसीले मुलुकको राष्ट्रियताको रक्षा सहित आर्थिक विकास र सामाजिक रुपान्तरणका लागि एमालेका उमेदवारहरुलाई विजयी बनाउन एमालेको सिंगो पंक्ति एक भएर लाग्नु पर्नेमा जोड दिनुभयो ।

एमाले गण्डकी प्रदेश कमिटिका सदस्य कुल बहादुर विकले स्थानीय स्रोतको अधिकतम परिचालन तथा विकास निर्माणका लागि एमालेको सरकार आवश्यक रहेको बताउनु भएको थियो ।

एमाले जिल्ला सचिवालय सदस्य खुम बहादुर भण्डारी, साविक धम्जा गाविसका पूर्व उपाध्यक्ष सिद्धिमान छन्त्याल लगायतले निर्वाचनमार्फत एमालेको नेतृत्वमा प्रदेश र संघीय सरकार निर्माणका लागि एमालेको जित आवश्यक रहेको बताउनु भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *