बानपा १ मा एमालेको चुनावी सम्पर्क कार्यालय स्थापना

आदर्श अनलाइन, बागलुङ
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अभियानलाई व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि नेकपा एमालेले बागलुङ नगरपालिका वडा नं. १ रामरेखामा निर्वाचन परिचालन सम्पर्क कार्यालय स्थापना गरेको छ ।

वडा नं. १ मा पार्टीको प्रचार अभियान लगायत निर्वाचन परिचालनका सम्पूर्ण कामलाई प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि सम्पर्क कार्यालय स्थापना गरिएको नेकपा एमाले बानपाका उपसचिव कृष्ण कार्कीले जानकारी दिनुभयो ।

पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला सहइन्चार्ज इन्द्रलाल सापकोटाले सम्पर्क कार्यालयको उद्घाटन गर्नु भयो । सो अवसरमा बोल्दै सापकोटाले मुलुकमा स्थिर राष्ट्रिय शक्तिको आवश्यकता पुरा गर्नका लागि नेकपा एमालेले जित्नु पर्नेमा जोड दिनुभयो । स्थिरता र विकासका लागि एमालेको विकल्प छैन, सापकोटाले भन्नुभयो गठबन्धनमा आवद्ध दलहरुबाट मुलुकले स्थिरता र विकास दुवै प्राप्त गर्न सक्दैन भन्ने कुरा डेढ वर्षमा वर्तमान सरकारले गरेका कामबाट पुष्टी हुन्छ ।

एमाले जिल्ला अध्यक्ष तथा प्रदेश सभाका उमेदवार हिरा बहादुर केसीले आर्थिक विकास र सामाजिक रुपान्तरणको एजेण्डा एमालेसंग मात्रै भएकाले आगामी निर्वाचनमा एमालेका उमेदवारहरुलाई विजयी गराउन आम मतदाताहरुलाई आव्हान गर्नु भयो ।

एमालेले बागलुङका ८५ वटै वडामा वडास्तरीय सम्पर्क कार्यालय, चारवटै प्रदेश निर्वाचन क्षेत्रमा प्रदेश स्तरीय निर्वाचन परिचालन कार्यालय र जिल्ला निर्वाचन कार्यालयमार्फत निर्वाचन अभियान सञ्चालन गर्न लागेको एमाले जिल्ला सचिवालय सदस्य तथा जिल्ला कार्यालय सचिव अमर बहादुर थापाले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *