नेपालका सबै परिवारलाई सहकारीमा आवद्ध गराउने एमालेको प्रतिवद्धता

आदर्श अनलाइन, बागलुङ
नेकपा एमालेले नेपालका सबै परिवारलाई सहकारीमा आवद्ध गराउने योजना अगाडि बढाएको छ । आगामी निर्वाचनका लागि एमालेले मंगलवार सार्वजनिक गरेको चुनावी घोषणा पत्रमा नेपालका सबै परिवारलाई सहकारीमा आवद्ध गराउन प्रोत्साहन गर्ने प्रतिवद्धता व्यक्त गरिएको छ ।

सहकारीबाट व्यवसाय प्रवद्र्धन ः नागरिकको आर्थिक उन्नयन भन्ने नाराका साथ एमालेले नेपालका सबै परिवारलाई सहकारीमा आवद्ध बनाउने योजना अगाडि सारेको हो । एमालेले सहकारी संस्थाहरुको क्षमता विकासमा राज्यले सहयोग गर्ने नीति लिने भएको छ ।
सहकारीको प्रवद्र्धन र विकासमा निरन्तर साथ दिदै आएको एमालेले सबै साना उत्पादकहरुलाई सहकारी संस्थामा आवद्ध गराउने, छरिएका उत्पादनहरुलाई एकीकृत गर्दै व्यवसायिक रुपमा अगाडि बढाउने प्रतिवद्धता जनाएको छ ।

न्यून आय भएका परिवारलाई सहकारीका माध्यमबाट आर्थिक विकासका काममा संलग्न गर्ने र बेरोजगारहरुलाई उत्पादक सहकारीमा आवद्ध गरी स्वरोजगार र आत्मनिर्भर बनाउने एमालेको घोषणापत्रमा उल्लेख छ ।

सबै सहकारीलाई सहकारी बिमा व्यवस्थामा आवद्ध गरिने, सहकारी ऋण, सूचना, तरलता व्यवस्थापन तथा कारोबार क्लियरिङको व्यवस्था गर्ने प्रतिवद्धता एमालेले घोषणापत्रमा गरेको छ ।

बचत तथा ऋण सहकारीलाई उत्पादनमुलक क्षेत्र तथा राष्ट्रिय रुपमा ठुला आयोजनामा समेत पूँजि परिचालन गर्न मिल्ने कानुनी व्यवस्था मिलाउदै प्रोत्साहित गर्ने, वित्तीय कारोबारको नियमित अनुगमन समेत गर्दै संकट परेका बेला सहकारीलाई राज्यले संरक्षण गर्ने व्यवस्था मिलाउने एमालेले घोषणापत्र मार्फत प्रतिवद्धता जनाएको छ ।

विगतमा एमाले नेतृत्वको सरकार हुदा सहकारीको प्रवद्र्धनमा योगदान गर्नुका साथै तीन खम्बे अर्थनीतिको व्यवस्था गर्दा एमालेका तर्फबाट नेतृत्वदायी भूमिका खेलिएको एमाले नेता केशव बडालले बताउनुभयो ।

मुलुकको गरिवी निवारणका लागि सहकारी माध्यम नै उपयुक्त हो भन्नेमा एमाले दृढ छ, राष्ट्रिय सहकारी महासंघका पूर्व अध्यक्ष समेत रहेका बडालले भन्नुभयो–‘बहुआयामिक गरिवीको अन्त्यका लागि सहकारीको विकल्प छैन ।’

नेपालमा हाल करिव ३० हजार सहकारी संघ संस्था रहेका छन् । सहकारीमा ७३ लाख भन्दा बढी सदस्य रहेका छन् । सहकारीले करिव १ लाख जना व्यक्तिलाई प्रत्यक्ष रोजगारी दिएको छ भने लाखौलाई अप्रत्यक्ष रोजगारी दिएको छ । सहकारी क्षेत्रले करिव ५ खर्ब वचत परिचालन गर्नुका साथै ४ खर्ब भन्दा बढी कर्जा लगानी गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *