सुशासनका लागि एमाले जित आवश्यक : केसी

आदर्श अनलाइन, बागलुङ
नेकपा एमाले बागलुङका अध्यक्ष तथा गण्डकी प्रदेश सभा सदस्य पदका उमेदवार हिरा बहादुर केसीले मुलुकवासीको ढाड सेक्ने गरी बढेको मूल्यवृद्धि नियन्त्रणका लागि एमालेको जित आवश्यक रहेको बताउनु भएको छ ।

चुनावी अभियानका क्रममा रेशका विभिन्न टोल भेलाहरुलाई सम्बोधन गर्ने क्रममा यस्तो बताउनु भएको हो । नेकपा एमालेको नेतृत्वमा रहेको सरकारलाई परमादेशको आडमा विस्थापित गरेर गठन भएको वर्तमान गठबन्धन सरकारले जनताको ढाड सेक्ने गरी मूल्य वृद्धि गरेको उहाले बताउनुभयो ।

वर्तमान सरकारबाट राष्ट्रियताको संरक्षण हुन नसक्ने चर्चा गर्दै केसीले नागरिकता विधेयक मार्फत विदेशीलाई नेपाली नागरिक बनाएर मुलुकको राष्ट्रियता कमजोर बनाउन वर्तमान सरकार लागि परेकोको आरोप लगाउनुभयो ।

कार्यक्रममा एमाले गण्डकी प्रदेश कमिटि सचिवालय सदस्य तथा प्रदेश सभाका समानुपातिक उमेदवार कृष्ण पाठकले मुलुकमा बलियो राष्ट्रिय शक्तिको विकासका लागि एमालेलाई बहुमत सहितको ठुलो दल बनाउनु पर्नेमा जोड दिनुभयो ।

एमालेले विकास निर्माण लगायत समग्र मुलुकको हितका लागि अगाडि सारेका र विगतमा गरेका कामको ययार्थ विश्लेषण गर्नु पर्नेमा जोड दिदै मुलुक निर्माणको योजना, दृष्टिकोण र लक्ष्य एमालेसंग मात्रै रहेको दावी गर्नु भयो ।

चुनावी अभियानका क्रममा भएका टोल भेलाहरुमा एमाले गण्डकी प्रदेश कमिटिका सदस्य हुमा कुमारी जिसी (अञ्जु), प्रदेश कमिटी सदस्य एव् केन्द्रीय सहकारी तथा गरिवी निवारण विभागका सदस्य राम बहादुर जिसी, जिल्ला सचिवालय सदस्य तथा जिल्ला कार्यालय सचिव अमर बहादुर थापा, एमाले रेशका अध्यक्ष भूमिराज शर्मा, सचिव रामचन्द्र गौतम लगायतले स्थिरता र विकासका लागि एमालेलाई मत दिन आव्हान गर्नु भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *