हाम्रो जित सुनिश्चित भइसक्यो : एमाले उमेदवार पाठक र केसी

आदर्श अनलाइन, बागलुङ
चुनाव प्रचार प्रचारको समय सकिनै लाग्दा बागलुङ बजारमा एमालेले घरदैलो तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । कात्तिक १८ गते बागलुङ बजारबाट प्रचार अभियान शुरु गरेका एमाले उमेदवारहरु गाउँ गाउँमा पुगेर मत माग्नुका साथै टोल भेला र घर दैलो कार्यक्रम सम्पन्न गरेका थिए ।

गाउँको प्रचार अभियान सकेर बजार फर्किएका उमेदवारहरु सहित एमालेका नेता कार्यकर्ताहरुले बिहीबार बागलुङ बजारमा घरदैलो तथा भेटघाट कार्यक्रम सम्पन्न गरेका हुन् । एमालेका तर्फबाट बागलुङ क्षेत्र नं. १ प्रतिनिधिसभा पदका उमेदवार डा.सूर्य पाठक, प्रदेशसभा १ का उमेदवार हिरा बहादुर केसी सहित एमाले नेता कार्यकर्ता र शुभेच्छुकहरुको सहभागितामा निर्वाचन सम्पर्क कार्यालय शिवधाराचोकबाट शुरु भएको घरदैलो कार्यक्रम बजारका विभिन्न टोलहरु परिक्रमापछि लोकतान्त्रिकचोकमा पुगेर सम्पन्न भएको थियो ।

लोकतान्त्रिक चोकमा आयोजित कार्यक्रममा बोल्दै एमाले पोलिट व्यूरो सदस्य तथा गण्डकी प्रदेशका सह–इन्चार्ज मन कुमारी केसी जिसीले मंसिर ४ गते हुने निर्वाचनमा एमालेको जित सुनिश्चित भइसकेको दाबी गर्नु भयो । एमालेका उमेदवारहरुलाई विजयी गराउनका लागि मतदाताले मंसिर ४ कुरेर बसेका छन्, एमाले नेतृ केसीले भन्नुभयो,–एमालेले लिएको नीति, एमालेको सबल नेतृत्व, एमालेले विगतमा गरेका लोककल्याणकारी काम र आगामी दिनका लागि प्रस्ताव गरेका २० वटा ग्यारेण्टीका आधारमा मतदाताले एमाले उमेदवारहरुलाई विजयी गराउने निश्चित जस्तै भएको छ ।
प्रचार अभियानका क्रममा गाउँमा पुग्दा मतदाताहरुले देखाएको माया र सद्भावले अत्यन्तै उत्साहित बनाएको बागलुङ क्षेत्र नं. १ का उमेदवार डा.सूर्य पाठक र प्रदेशसभा १ का उमेदवार हिरा बहादुर केसीले बताउनु भएको छ । हामीले बजारबाट शुरु गरेको अभियानलाई व्यापक रुपमा गाउँ गाउँमा पु¥यायौ, गाउँको अभियान सकेर बागलुङ बजार झर्दा बजारबासी मतदाताले हामीप्रति देखाएको माया र सद्भावले झन बढी उत्साहित भएका छौ, प्रतिनिधिसभा सदस्य पदका उमेदवार पाठकले भन्नुभयो–मतदाताहरुले गुनासो र सुझाव सहित मसिर ४ मा सूर्य चिन्हमा मतदान गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।

भेटघाट तथा प्रचार अभियान सकिनै लाग्दा हामीले फराकिलो अन्तरले चुनाव जित्ने अवस्था सिर्जना भएको छ, प्रदेशसभा सदस्य पदका उमेदवार हिरा बहादुर केसीले भन्नुभयो–प्रचार अभियान रोकिएसंगै मौन अवधीमा हुन सक्ने चुनावी तिकडम, निर्वाचनको दिन सत्ताको आडमा हुन सक्ने ज्यादतीलाई रोकेर जित हासिल गर्नका लागि नेता कार्यकर्ताको सक्रियता आवश्यक छ ।

यो पनि पढ्नुहोस्