बागलुङमा एकैसाथ १०८ विद्यालय भवन बन्दै


–खेमराज गौतम, बागलुङ

बागलुङ जिल्लामा चालु आर्थिक वर्षमा १०८ विद्यालयका भवन निर्माण सम्पन्न हुदैछन् ।

जिल्लाका १०८ विद्यालयका चार कोठे र दुईकोठे भवन निर्माण गर्नका लागि अहिले राष्ट्रपति शैक्षिक सुरधा कार्यक्रम मार्फत स्थानीयतहमा कार्यक्रम सम्झौताका लागि आव्हान गरिएको छ ।

शिक्षाको भौतिक तथा प्रविधिको सुधारका लागि नेपाल सरकारले ल्याएको राष्ट्रपति शैक्षिक सुधारकार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षमा कार्यान्वयन गरिने बागलुङका १०८ विद्यालयमा भौतिक पूर्वाधार र ३५ वटा विद्यालयमा आइसिटि ल्याव स्थापना संगै १४३ विद्यालयलाई स्थानीय पालिका मार्फत सम्झौता गरेर कार्यान्वयन गर्न थालिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भदौमा बजेट विनियोजनका लागि विद्यालयको सूचि सार्वजनिक गरेकोमा मंसिर २८ गते देखि कार्यान्वयका लागि स्थानीय तहसंग सम्झौता गर्न परिपत्र जारी गरेको छ । १४३ विद्यालयका चार कोठे र दुई कोठे भवन निर्माण तथा आइसिटि ल्यावका लागि गत भदौं अन्तिममा बजेट बिनियोजन गरेको छ ।

बागलुङमा १४३ विद्यालय मध्ये ४६ वटा विद्यालयमा चार कोठे भवन, ६२ वटा विद्यालयमा दुई कोठे भवन र ३५ वटा विद्यालयमा आइसिटि ल्याब कार्यक्रमका लागि बजेट विनियोजन गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्र्तगतको शिक्षा तथा मावन स्रोत विकास केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार बागलुङमा ४६ वटा चार कोठे भवन निर्माणका लागि रु. ५० लाखका दरले रु. २३ करोड, ६२ विद्यालयको दुई कोठे भवन निर्माणका लागि रु. २५ लाखका दरले रु. १५ करोड ५० लाख र ३५ विद्यालयमा आईसिटि ल्याबका लागि रु. ६ लाख ५० हजारका दरले रु. २ करोड २७ लाख ५० हजार गरी रु. ४० करोड ७७ लाख ५० हजार बजेट बिनियोजन भएको छ ।

गत वर्ष चार कोठे भवनका लागि रु. ३६ लाख र दुई कोठे भवनका लागि रु.१८ लाख बजेट प्राप्त भएकोमा भुकम्प प्रतिरोधी भवन बनाउन बजेट अपुग भएको विद्यालयहरुको गुनासोपछि अहिले बजेट थप भएर चार कोठेका लागि रु. ५० लाख दुई कोठेका लागि रु. २५ लाख बजेट आएको शिक्षा विकास तथा समन्वय इकाइ बागलुङका प्रमुख कुश्मराज उपाध्ययाले जानकारी दिनुभयो ।

छनौटममा परेको विद्यालय मध्ये सबै भन्दा धेरै निसीखोला गाउँपालिका भित्रका २० विद्यालय र सबै भन्दा थोरै बरेङ गाउँपालिका भित्रका ७ विद्यालय छनौटमा परेका छन् ।

छनोटमा परेका बागलुङका १० पालिका अन्तर्गत १४३ विद्यालयमध्ये गलकोट नगरपालिकाका १६, बागलुङ नगरपालिकाका १६, काठेखोला गाउँपालिकाका १२, जैमिनी नगरपालिकाका १२, बरेङ गाउँपालिकाका ७, ढोरपाटन नगरपालिकाका १९, निसीखोला गाउँपालिकाका २०, ताराखोला गाउँपालिकाका १२, तमानखोला गाउँपालिकाका ११ र बडिगाड गाउँपालिकाका १८ विद्यालय रहेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीका प्रेस संयोजनक विमल खड्काले जानकारी दिनुभयो ।

गत वर्ष ढिला गरी कार्यक्रम स्विकृत हुँदा कार्यान्वयमा समस्या भएको भन्दै यस वर्ष भदौंमै कार्यक्रम स्विकृत हुँदा कार्यान्वयनमा सहज हुँने शिक्षा विकास तथा समन्वय इकाई प्रमुख कुश्मराज उपाध्याले जानकारी दिनुभयो । “गत वर्ष ढिला गरी बजेट तथा कार्यक्रम आउदा बढी रकम फ्रिज भएको विद्यालयको गुनासो तथा अनुगमन गर्न समेत समस्या भएको पाइयो” उपाध्ययले भन्नुभयो “यो वर्ष भदौमै कार्यक्रम आएपछि सहज भएको छ पालिकाले यसलाई कार्यान्वयनमा लैजान सहज हुँनेछ, शिक्षा विकास तथा समन्वय इकाईले अनुगमन तथा निरिक्षण गर्ने छ ।”

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम स्थानीय तह मार्फत कार्यान्वयन गरिदै आइएको छ । भवन डिजाइन तथा नक्सा र बजेट सङ्घीय सरकारले दिने भए पनि बजेट कार्यान्वयन स्थानीय तहले गर्ने इकाइ प्रमुख उपाध्यायले जानकारी दिनुभयो । उपाध्यायका अनुसार स्थानीय तहमा कार्यक्रम सम्झौताका लागि बजेट समेत पठाइएको बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *